काठमाडौं । सन् २०२० को अन्त्यतिर ह्वावेबाट छुट्टिएको अनर स्मार्टफोन विश्वबजारमा गुमानाम जस्तै बनेको छ । हुन त कम्पनीले चिनियाँ बजारमा केही समयअघि ‘भ्यु ४०’ र ‘अनर ५०’ सार्वजनिक गरेको थियो ।
तर, विश्वका अन्य बजारमा कम्पनीको उपस्थिति नहुँदा त्यसले निकै ठूलो असर पारेको छ ।
ह्वावेबाट छुट्टिए पनि कम्पनीले तत्कालै अमेरिकाको प्रतिबन्धबाट भने छुटकारा पाएन । जसका कारण कम्पनीले गुगल सर्भिस प्रयोग गर्न पाएको थिएन ।
केही समयअघि मात्रै अमेरिकाले अनरलाई गुगलका सर्भिस प्रयोगमा खुला गरिदियो । त्योसँगै कम्पनीले अबका प्रडक्ट गुगल सर्भिसका साथ बजारमा भित्रिने जानकारी दिएको थियो ।
त्यसै अन्तर्गत कम्पनीले नयाँ सिरिजको रुपमा ‘म्याजिक ३’ सिरिजका स्मार्टफोन बजारमा सार्वजनिक गरेको छ । जसमा गुगलका सर्भिस समेत समावेश छन् ।
कम्पनीले ‘म्याजिक थ्री’ सिरिजमा एकैपटक तीन वटा फोन सार्वजनिक गरेको छ । जसमा सबै फोन फाइभजीमा आधारित हुनेछन् । १२ जीबी र्यामसम्मका उक्त फोनमा ५१२ जीबी इन्टरनल स्टोरेज (रोम) हुने उल्लेख गरिएको छ ।
सबै मोडलमा १०–बिट ६.७ इन्चको ओएलईडी डिस्प्ले रहेको फोनहरुमध्ये म्याजिक थ्री प्रो र प्रो प्लसमा स्न्यापड्रयागन ८८८ प्लस र म्याजिक ३ मा स्न्यापड्रयागन ८८८ प्रोसेसर रहेको छ ।
यो फोनको युनिक फिचर भनेको ‘ओएस टर्बो एक्स’ हो, जसमा ‘लो लेटेन्सी, एन्टी–एजिङ इन्जिन र स्मार्ट मेमोरी एजिङ’ रहेका छन् । यसले फोनलाई एकैपटक धेरै वटा एप खोल्दा पनि बढी रेस्पोन्सिभ बनाउने उल्लेख गरिएको छ ।
त्यसका साथै फोनमा पावर खपत कम गर्नका लागि जीपीयू टर्बो एक्स प्रयोग गरिएको जनाइएको छ । क्यामेराको हिसाबले हरेक मोडल फरक-फरक रहेको छन् । त्यसमध्ये म्याजिक ३ मा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, १३ मेगा पिक्सेलको अल्ट्रावाइड, ६४ मेगापिक्सेलको मोनोक्रोम क्यामेरा रहेको छ ।
त्यस्तै म्याजिक प्रोमा ६४ मेगापिक्सेल टेलिफोटो क्यामेरा र म्याजिक प्रो प्लसमा ५० मेगापिक्सेलको मुख्य क्यामेराका साथ ६४ मेगापिक्सेलको मोनोक्रोम र ६४ मेगापिक्सेलको टेलिफोटो लेन्स रहेको छ ।
यो फोन चिनियाँ बजारमा सार्वजनिक भएता पनि विश्व बजारमा कहिले सार्वजनिक हुन्छ भन्ने विषयमा भने हालसम्म कुनै जानकारी प्राप्त भएको छैन । तर, यसको बजारमा मूल्य भने एक हजार ५५ डलरबाट सुरु भएर एक हजार सात सय ६० डलरसम्म पर्नेछ ।