close

के फेसबुकमा डिलिट भएको पोस्ट फिर्ता ल्याउन सकिन्छ ?

टेकपाना टेकपाना

पुस १९, २०७९ २०:३५

के फेसबुकमा डिलिट भएको पोस्ट फिर्ता ल्याउन सकिन्छ ?

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा एकपटक पाेस्ट भइसकेकाे सामग्री डिलिट भए पुनः फिर्ता ल्याउन सकिन्छ त ? कुनै व्यक्ति वा संस्थाले फेसबुकमा पोस्ट शेयर गर्नेबित्तिकै डिलिट गरेका घटना धेरै छन् ।

उदाहरणका लागि मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भेरिफाइड पेज क. प्रचण्ड/Comrade Prachanda बाट शेयर भएको एउटा पोस्ट केही मिनेटमै डिलिट भयो । सो पोस्टलाई लिएर धेरै मिडियाले समाचार नै बनाए ।

फेसबुकमा बेलाबेलामा साधारण प्रयोगकर्तादेखि नेता र सेलिब्रेटीसम्मले पोस्ट डिलिट गर्छन् । उसाे भए ती अकाउन्टबाट डिलिट भएकाे सामग्री पछि अन्य प्रयोगकर्ताले हेर्ने कुनै माध्यम छ त ? यसकाे उत्तर हाे, छैन ।

अरूले सञ्चालन गरेका पेज वा अकाउन्टबाट डिलिट भएका पोस्ट कुनै पनि माध्यम प्रयोग गरेर हेर्न सम्भव छैन । तर, आफूले पेजबाट डिलिट गरेको पोस्ट भने हेर्न सकिन्छ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस्:

(नाेटः फेसबुकको यो फिचर वेब ब्राउजरबाट मात्र प्रयोग गर्न सकिन्छ ।)

-   सबैभन्दा पहिले आफ्नो फेसबुक पेजमा जानुहोस् ।

-   त्यसपछि बायाँपट्टि स्क्रोल गर्दै तल गएर 'सेटिङ' अप्सनमा क्लिक गर्नुहोस् ।

-   अनि अझ तल स्क्रोल गर्दै जानुभयो भने 'एक्टिभिटी लग' भन्ने अप्सन देखिन्छ, यसमा क्लिक गर्नुहोस् ।

-   यति गरेपछि तपाईँले फेसबुक पेज खोलेपछि आजका दिनमा फेसबुकमा पेजमा के-के शेयर गर्नुभयो सबै विवरण देखिन्छ । त्यहीँ डिलिट गरिएका फाइल पनि हेर्न सकिन्छ ।

आफ्नो व्यक्तिगत अकाउन्टबाट डिलिट भएका पोस्ट हेर्न के गर्ने ?

आफ्नो व्यक्तिगत फेसबुक अकाउन्टबाट डिलिट भएका पोस्ट हेर्न तलको प्रक्रिया अपनाउनुहोस् ।

-   सबैभन्दा पहिले फेसबुक एप खोल्नुहोस् ।

-   त्यसपछि माथि दायाँपट्टि रहेको प्रोफाइलको आइकनमा ट्याप गर्नुहोस् ।

-   अनि, आफ्नो नाममा ट्याप गर्नुहोस् ।

-   यति गरेपछि तपाईँको टाइमलाइन खुल्छ । त्यहाँ क्रियट रिलको छेउमा भएको तीन ओटा डटमा ट्याप गर्नुहोस् ।

-   र, एक्टिभिटी लगमा जानुहोस् ।

-   त्यसपछि अर्काइभ वा रिसाइकल बिनमा डिलिट गरिएका पोस्ट वा फोटो देख्न सकिन्छ । यदि रिसाइकलबाट पनि डिलिट भएको छ भने शेयर गरिएका फाइल फिर्ता ल्याउन सकिँदैन । डिलिट गरेको पोस्ट रिसाइकल बिनमा बसेको ३० दिनभन्दा अगाडि नै रिस्टोर गर्नुपर्ने हुन्छ । यदि रिस्टोर गरिएन भने पोस्ट सधैँका लागि हट्छ ।

 

पछिल्लो अध्यावधिक: पुस २०, २०७९ १३:८