close

सर्भरको समस्या समाधान भएसँगै सुरु भयो विद्युतीय राहदानीको वितरण

टेकपाना टेकपाना

पुस २४, २०७९ १८:२९

सर्भरको समस्या समाधान भएसँगै सुरु भयो विद्युतीय राहदानीको वितरण

काठमाडौं । गत एक सातादेखि स्थगित राहदानी वितरण पुनः सुरु भएको छ । राहदानी विभागको सर्भरमा समस्या आउँदा गएको १७ गतेदेखि राहदानी वितरण रोकिएको थियो ।

सर्भरमा देखिएको समस्या समाधान भएसँगै आइतबारदेखि राहदानी वितरण सेवा नियमित भएको विभागले जनाएको छ । विभागले आइतबार एक सूचना जारी गर्दै सेवा पुनः सुरु भएको जानकारी दिएको हो ।

“गत साताबाट सिस्टममा आएको सुस्तता हाल समाधान भएको छ,” विभागको सूचनामा भनिएको छ, “समस्या समाधान भएसँगै सेवा पूर्णरुपमा सञ्चालनमा आएको छ ।”

यसअघि विभागको सर्भरमा समस्या आउँदा ‘बायोमेट्रिक’ पश्चात् बनेका राहदानी वितरण रोकिएको थियो । नयाँ आवेदनमा कुनै समस्या नभएपनि राहदानी वितरण रोकिँदा सेवाग्राहीले समस्या भोग्नु परेको थियो । तर, अब भने सबै सेवा पुनः पुरानै अवस्थामा फर्किएको उल्लेख छ ।

योसँगै विभागमा राहदानीका लागि आवेदन दिएका आवेदकहरूले आफ्नो मोबाइलमा एसएमएस तथा मेसेज प्राप्त भएपछि अथवा नेपाल ईपासपोर्ट एपमा राहदानी तयार छ भन्ने जानकारी प्राप्त भएपश्चात राहदानी लिन आउन भनिएको छ ।

साथै सर्भरमा आएको समस्याका कारण राहदानी वितरणमा हुन गएको ढिलाइप्रति विभागले क्षमा याचना समेत मागेको छ । 

पछिल्लो अध्यावधिक: पुस २४, २०७९ १८:३०