close

राइड शेयरिङ गर्नेको बाइकमा किन देखिन्छन् मोबाइलका थोत्रा कभर ?

हिक्मत आचार्य हिक्मत आचार्य

पुस २४, २०७९ १७:२९

राइड शेयरिङ गर्नेको बाइकमा किन देखिन्छन् मोबाइलका थोत्रा कभर ?

काठमाडौं । अफलाइन राइड शेयरिङमा जान चाहने राइडरहरूले आफूलाई चिनाउन थोत्रा मोबाइल कभरको सहारा लिने गरेको पाइएको छ । दुर्घटनाको जोखिम देखाउँदै ट्राफिक प्रहरीले गएको भदौयता मोबाइल स्ट्यान्ड राख्न नदिएपछि अफलाइन राइडरहरूले यो नयाँ जुक्ति निकालेका हुन् । 

सामान्यतया नेभिगेसन तथा म्याप हेर्ने सहजताका लागि मोबाइल स्ट्यान्ड राख्ने गरिएको थियो । तर अफलाइन राइडरहरूका लागि भने त्यो टाढैबाट आफूलाई चिनाउने सङ्केत पनि थियो ।

यस्तोमा ट्राफिक प्रहरीले मोबाइल स्ट्यान्ड नै राख्न नदिएपछि पछिल्लो समय केही राइडरहरूले बाइकको ह्याण्डलमा मोबाइलको पुरानो कभर राखेर अफलाइन राइडर भएको संकेत दिन थालेका हुन् । हामीले रत्नपार्क, सुन्धारा र कोटेश्वर चोकमा भेटिएका राइडरहरूलाई नियालेका थियौँ ।

त्यहाँ भेटिएका अधिकांश राइडरहरूको बाइक अघि पुराना मोबाइल कभरहरू राखिएका थिए । यस क्रममा भेटिएका एक राइडरलाई हामीले पुराना कभर राख्नुको कारण सोधेका थियौँ ।

“यात्रुले राइड शेयरिङ हो भन्ने कुरा सजिलै ठम्याउन सकून् भनेरै अगाडिपट्टि मोबाइल कभर राख्न थालिएको हो,” उनले भने । हाल काठमाडौं उपत्यकामा पठाओ, इनड्राइभ, सजिलो राइड शेयरिङ, सहारा जस्ता थुप्रै राइड शेयरिङ सञ्चालनमा छन् ।

धेरैजसो राइड शेयरिङमा लाग्ने कमिसनबाट बच्न तथा ट्याक्सीले जस्तै बार्गेनिङमा राम्रो रकम प्राप्त हुने लोभमा राइडरहरूले अफलाइनको सहारा लिने गरेका छन् । 

 

अफलाइन राइड शेयरिङले जोखिममा यात्रु

कुनै राइड शेयरिङ प्लेफर्ममा आवद्ध भएका राइडरले अनलाइनबाटै यात्रुसम्म पुगेर सेवा दिनुलाई अनलाइन राइड शेयरिङ भन्ने गरिन्छ । यस्तोमा एपमा यात्रुले राइडका लागि अनुरोध गर्छन् र सोही अनुरोधको आधारमा राइडर र यात्रुको भेट हुन्छ ।

अनि यात्रुलाई गन्तव्यमा पुर्‍याइन्छ । यस्तोमा राइड शेयरिङ प्लेटफर्मले राइडरहरूबाट निश्चित कमिसन लिने गर्दछन् । 

अर्कोतर्फ अफलाइन राइड शेयरिङमा बाटोघाटो तथा चोकमा भेटिने यात्रुसँग बार्गेनिङ गरेर उनीहरूको गन्तव्यमा पुर्‍याइदिने अफर गरिन्छ । जसमा अनेकौँ जोखिम समेत हुने गरेका छन् ।

अफलाइन राइड शेयर गर्दा सुरक्षा जोखिम बढी हुने ट्राफिक कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्ट बताउँछन् । "अफलाइन राइड गर्दा राइडर र यात्रुले दुवैको पहिचान गर्न गाह्रो हुन्छ । त्यसैले एकअर्काको भर पर्न समेत मुस्किल पर्छ । जसले सुरक्षा जोखिम समेत बढाउँछ," उनी भन्छन् ।

अफलाइन राइड शेयरिङमा कम्पनीहरूले दिने दुर्घटना बीमा पनि हुँदैन । अफलाइन राइड गर्दा यात्रुले भनेको ठाउँमा पुग्न लाग्ने शुल्क यकिन हुँदैन । त्यसैले अफलाइन राइड गर्दा राइडरले यात्रुबाट बढी शुल्क लिइरहेका हुन्छन् ।

पछिल्लो अध्यावधिक: पुस २४, २०७९ १७:३१