काठमाडौं । आउँदो माघ २४ देखि राजधानीमा हुने इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३ इन एसोसिएसन विथ एससीटीको तयारी तीव्र पारिएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै आयोजक कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ)ले तयारी अन्तिम चरणमा पुगेको जानकारी दियो ।
\६ दिनसम्म चल्ने मेलामा ९० प्रतिशत बढी स्टल बुकिङ भइसकेको महासंघले जनाएको छ । ‘क्यान इन्फोटेकमा सूचना सञ्चार प्रविधि क्षेत्रमा भित्रिएका नवीनतम प्रविधि तथा सेवाको विशेष प्रदर्शनी तथा सरोकारवालाहरुबीच गहन छलफल हुने महासंघका अध्यक्ष रणजीत पोदारले जानकारी दिए ।
२८औँ क्यान इन्फोटेकको टाइटल स्पोन्सरमा इन्फोडेभलपर्स प्रालि र एसोसिएट स्पोन्सरमा स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेड (एससीटी) रहेका छन् । क्यान इन्फोटेकको इतिहासमै पहिलो पटक सफ्टवेयर कम्पनीले शीर्ष प्रायोजन गरेको हो ।
इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उमेश रघुवंशीले नेपालको सफ्टवेयर उद्योगलाई चिनाउन र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न क्यान इन्फोटेकमा शीर्ष प्रायोजन गरिएको भनाइ राखे । ‘क्यान हार्डवेयरको मात्रै संस्था हो भन्ने भाष्यबाट परिवर्तन गर्न जरुरी थियो,’ उनले भने, ‘स्वदेशकै सफ्टवेयर र सोलुसन्सको बजार निर्माण गर्न यसपटकको क्यान इन्फोटेक मेलाबाट सहयोग पुग्ने विश्वास लिएका छौं ।’
त्यस्तै क्यान इन्फोटेक २०२३ को प्लाटिनम स्पोन्सरमा डिशहोम फाइबरनेट, डायमन्ड स्पोन्सरमा नेपाल टेलिकम तथा गोल्ड स्पोन्सरमा माया एनिमेसन एकेडेमी र ह्वावे रहेका छन् । त्यस्तै सिल्भर स्पोन्सरहरूमा एसपावर, डिजिकम र अर्न सिक्का (अनलिमिटेड टेक्नोलोजी) रहेका छन् ।
प्रदर्शनीलाई सफल रुपमा आयोजना हुन देशभित्रबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, सुबिसु लगायतका संस्थाले सहयोग गरेका छन् । त्यस्तै अन्तर्राष्ट्रिय रूपमा असोसियो र विट्साको पनि सहयोग रहेको छ ।
क्यान इन्फोटेकको अवलोकनका लागि सर्वासाधारणलाई रु. १०० र विद्यार्थीलाई रु. ५० शुल्क निर्धारण गरिएको छ । इन्फोटेकको टिकेटिङ पार्टनर पेवेलको मोबाइल एप डाउनलोड गरी एपबाटै रु. २५ मा अनलाइन टिकेट खरिद गर्न सकिने व्यवस्था ल्याइएको छ ।
यो प्रर्दशनी सूचना प्रविधिसम्बन्धी चासो राख्नेहरुको लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने विशेष थलो पनि हुने विश्वास आयोजकले लिएको छ ।
क्यान इन्फोटेकमा ब्राण्डिङ, आईसीटी एक्ससरिज, प्रडक्ट लञ्चिङसँगै आईटी करियर काउन्सिलिङ (स्टुडेन्ट पेभिलियन), कलेज पेभिलियन, स्टार्टअप पेभिलियन, सफ्टवेयर पेभिलियनको व्यवस्था गरिएको छ । यसपटक नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्रवर्द्धन गरिएको छ ।
साथै क्यान इन्फोटेककै दौरान हरेक दिन नेपाल पर्यटन बोर्डको सभाहलमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डेटा, मसिन लर्निङ, क्लाउड कम्प्युटिङ तथा अन्य पछिल्ला टेक्नोलोजी ट्रेन्डका विषयमा कन्फ्रेन्स पनि सञ्चालन हुने क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए ।
यस संस्करणको इन्फोटेक मेलालाई करिब साढे ३ लाखले अवलोकन गर्ने अपेक्षा लिइएकाे छ ।
राजधानीमा माघ २४ देखि ६ दिनसम्म देशकै ठूलो सूचना प्रविधि प्रदर्शनीको समापन भएपछि सातै प्रदेशमा क्यान इन्फोटेक मेला हुने महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।
यसअन्तर्गत मधेश प्रदेशमा फागुन ५ देखि फागुन ९ गतेसम्म, सुदूरपश्चिम प्रदेशमा फागुन १३ देखि फागुन १७ गतेसम्म, गण्डकी प्रदेशमा फागुन २६ देखि फागुन ३० गतेसम्म र बागमती प्रदेशमा चैत २ देखि चैत ६ गतेसम्म क्यान इन्फोटेक हुनेछ ।
प्रदेश १, कर्णाली र लुम्बिनी प्रदेशमा पनि चाँडै नै क्यान इन्फोटेकको आयोजना मिति घोषणा हुने उनले जनाए ।