close

के तपाईँको मेसेजमा राष्ट्रिय वाणिज्य बैंकबाट ५ हजार चिठ्ठा परेको लिङ्क आयो ?

टेकपाना टेकपाना

माघ २४, २०७९ १३:५६

के तपाईँको मेसेजमा राष्ट्रिय वाणिज्य बैंकबाट ५ हजार चिठ्ठा परेको लिङ्क आयो ?

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको नाममा अहिले फेसबुकमा ‘फिशिङ लिङ्क’ (झुक्याएर माछालाई बल्छीमा पारेजस्तै इन्टरनेट प्रयोगकर्तालाई जालमा पार्ने दुष्प्रयत्न) फैलिरहेको छ । ‘फिशिङ लिङ्क’ रहेको उक्त साइट राष्ट्रिय वाणिज्य बैंककै जस्तो वास्तविक देखिने भएकाले जो कोही पनि झुक्किन सक्ने सम्भावना छ ।

साइटमा विजेता वा लक्की ड्र केही लेखिएको छैन । जसले गर्दा कुनै जानकारीका लागि होला भन्ने लाग्छ । लिङ्कमा क्लिक गरिसकेपछि सम्पूर्ण डेटा ‘फिसिङ’मा (ह्याकरको हातमा) पर्छ ।

यस्तो लिङ्क खोल्ने व्यक्तिको मेसेन्जरबाट उक्त लिङ्क विभिन्न व्यक्तिलाई स्वतः फरवार्ड हुन्छ । सामाजिक सञ्जाल प्रयोगकर्तामाझ यस्ता लिङ्क फैलिएपछि बैङ्कले सूचना जारी गर्दै सचेत हुन अनुरोध गरेको छ ।

"यस बैंकको लोगो तथा बैंकसंग सम्बन्धित फोटोहरू राखी सामाजिक सञ्जाल मार्फत विभिन्न प्रकारका लिङ्कहरू प्रयोग गरि ठगीमा परेको भन्ने गुनासाहरू सेवाग्राहीबाट प्राप्त भएको छ," बैंकले जारी गरेको सूचनामा लेखिएको छ, "बैंकले यस प्रकारका सामाजिक सञ्जालमार्फत चिठ्ठा तथा उपहार कार्यक्रमको कुनै घोषणा नगरेको जानकारी गराउँदछौँ ।"

खाताको केवाईसी अपडेट गर्ने प्रयोजनका लागि भनेर वा अन्य कुनै प्रयोजनका लागि ओटीपी, लिङ्क, पिन कोड तथा पासवर्ड जस्ता सूचनाहरू बैंकले नमाग्ने जानकारी दिएको छ । त्यसैले यस प्रकारका गोप्य सूचना तथा नम्बरहरू मागेमा उपलब्ध नगराउन बैंकमा अनुरोध छ ।

यो लिङ्क खोलेपछि डेटा कसरी चोरी हुन्छ ?

सामाजिक सञ्जाल फेसबुक मेसेन्जरमा फैलेको यो लिङ्क नयाँ विन्डोजमा खोल्ने हो भने पाँच हजार पुरस्कारका लागि आवेदन दिन सकिने प्रलोभन बाँडिएको देखिन्छ । रकम त्यति ठूलो नभएकाले पनि धेरैलाई आधिकारिक जस्तो नै लाग्न सक्छ ।

त्यस्तै साइटमा रहेका कमेन्ट हेर्ने हो भने पनि आधिकारिक जस्तो नै देखिन्छ । त्यहाँ भएका विभिन्न प्रश्नको उत्तर दिँदै गयो भने फेसबुक मेसेन्जर र ह्वाट्सएपको अनुमति माग्छ ।

यदि त्यस्तो अनुमति दिएको खण्डमा तपाईँको ह्वाट्सएप वा फेसबुक नै ह्याक हुन्छ र उनीहरूले तपाईँको अकाउन्टबाट थप व्यक्तिलाई त्यस्तो ‘फिशिङ लिङ्क’ पठाएर फसाउन सक्छन् ।

 

 

 

पछिल्लो अध्यावधिक: माघ २४, २०७९ १३:५७