close

गुणस्तरीय मोबाइल तथा इन्टरनेट सेवा दिन नसके सेवाप्रदायकको लाइसेन्स खारेज हुने

टेकपाना टेकपाना

फागुन १, २०७९ १२:४७

गुणस्तरीय मोबाइल तथा इन्टरनेट सेवा दिन नसके सेवाप्रदायकको लाइसेन्स खारेज हुने

काठमाडौं । अब तोकिएको स्तरमा गुणस्तरीय मोबाइल तथा दूरसञ्चार सेवा उपलब्ध गराउन नसक्ने सेवाप्रदायकको अनुमतिपत्र खारेज हुने भएको छ । नियामक प्राधिकरणले हालै पारित गरेको गुणस्तर सम्बन्धी विनियमावली २०७९ अनुसार निर्धारित न्यूनतम गुणस्तर निर्धारण गर्न सेवाप्रदायकको अनुमतिपत्र खारेजीसम्मको व्यवस्था गरेको हो ।

आगामी १ वैशाख २०८० देखि लागू हुने भनिएको उक्त विनियमावली अनुसार आधारभूत दूरसञ्चार सेवा, आधारभूत टेलिफोन सेवा, मोबाइल सेवा, इन्टरनेट तथा डेटा सेवा सञ्चालन गर्दा सेवाप्रदायकले कायम गर्नुपर्ने गुणस्तर निर्धारण गरिएको छ ।

विनियमावली प्रारम्भ भएसँगै दूरसञ्चार सेवा सञ्चालन गर्ने सेवाप्रदायकले  त्यसअनुरूप सेवाको गुणस्तर कायम गर्नुपर्ने उल्लेख छ । निर्धारित अवधिमा सेवाको गुणस्तर कायम गर्न नसक्ने भएमा त्यसको आधार, कारण तथा गुणस्तर कायम गर्नको लागि गरेको काम कारबाहीको विवरण र विनियमावली अनुसार सेवाको गुणस्तर कायम गर्न आवश्यक पर्ने अवधि खुलाई प्राधिकरण समक्ष निवेदन दिनुपर्नेछ ।

यसरी प्राप्त निवेदनको व्यहोरा मनासिब देखिएमा प्राधिकरणले त्यस्तो सेवा प्रदायकलाई सेवाको गुणस्तर कायम गर्न थप अवधि दिन सक्नेछ । उक्त थप अवधिमा समेत सेवाको गुणस्तर कायम गर्न नसक्ने सेवाप्रदायकको अनुमतिपत्र दूरसञ्चार ऐन २०५३ को दफा ४७ अनुसार प्राधिकरणले खारेज गर्न सक्ने उल्लेख छ ।

सेवाप्रदायकहरूले विभिन्न स्थानमा आफूले प्रदान गर्ने सेवाको गुणस्तर आफैँ परीक्षण तथा मापन गर्नुपर्ने र त्यसको प्रतिवेदन प्रत्येक तीन महिनामा प्राधिकरणमा बुझाउनु पर्नेछ । विनियमावली अनुसार दूरसञ्चार सेवाको गुणस्तर मापन गर्न आवश्यक पर्ने उपकरणसहित अन्य स्रोतको व्यवस्थासमेत सेवाप्रदायकहरूले नै गर्नुपर्नेछ ।

यतिमात्र नभएर विनियमावली अनुसार गुणस्तर कायम गरे न गरेको तथा सेवाप्रदायकले मापन गरी बुझाएको गुणस्तर मापन प्रतिवेदनको विश्वसनीयताको विषयमा प्राधिकरणले आकस्मिक रूपमा अनुगमन, निरीक्षण, जाँच वा कुनै विशेष प्रकारको परीक्षण वा मापन गर्न तथा गराउन सक्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: फागुन १, २०७९ १२:५५