close

तपाईँलाई कस्तो लाग्यो नोकियाको नयाँ लोगो ?

टेकपाना टेकपाना

फागुन १५, २०७९ १०:१७

तपाईँलाई कस्तो लाग्यो नोकियाको नयाँ लोगो ?

काठमाडौं । एक समयको स्मार्टफोनको दिग्गज कम्पनी नोकियाले झण्डै ६० वर्षको अवधिमा पहिलो पल्ट आफ्नो लोगो परिवर्तन गरेको छ । बार्सिलोनामा मोबाइल वर्ल्ड कंग्रेस सुरु हुनुभन्दा एक दिन अघि आइतबारका दिन कम्पनीले आफ्नो ब्रान्डको नयाँ परिचय बाहिर ल्याएको छ, जुन नाटकीय परिवर्तन हो ।

यससँगै निलो पृष्ठभूमिमा अक्षर राखेर बनेको प्रतिष्ठित लोगोको समय समाप्त भएको छ । त्यसको स्थानमा कम्पनीले थप आधुनिक र डिजिटल देखिने लुक्स भएको लोगो ल्याइएको दाबी गरेको छ ।

"हामी हाम्रो रणनीतिलाई परिष्कृत गर्दैछौँ र एउटा मुख्य चालकको रुपमा आज हामी जे छौँ त्यसलाई दर्शाउँन हाम्रो ब्रान्डलाई पनि पुनर्ताजगी गर्दैछौँ । व्यवसायहरूलाई आपसमा जोड्ने प्रविधि विकास गर्ने नेतृत्वदायी कम्पनीको रुपमा नेटवर्कलाई क्लाउडमा जोड्ने भविष्यको दिशामा हामी छौँ," नोकियाले सीईओ पेक्का लण्डमार्कलाई उदृत गर्दै आफ्नो ब्लग पोस्टमा भनेको छ ।

"अधिकांश मानिसहरूको दिमागमा हामी अझै पनि सफल मोबाइल फोन ब्रान्ड हौँ । तर नोकिया आज नोकिया त्यो होइन, अर्कै भइसकेको छ," लण्डमार्कले भनेका छन् ।

"हामी नयाँ ब्रान्ड सार्वजनिक गर्न चाहन्छौँ, जुन धेरै हदसम्म नेटवर्क र औद्योगिक डिजिटलाइजेसन केन्द्रित भइरहेको छ । जुन चाहिँ विरासतको मोबाइल फोनभन्दा नितान्त फरक चिज हो ।"

के यो धेरै मानिसहरूले थाहा पाएको र माया गरेको लोगोको अन्त्य नै हो त ? तर त्यसो पनि होइन । तपाईँलाई सम्झना होला, माइक्रोसफ्टले हत्याएपछि नोकियाको फोन व्यवसाय नोकियाबाट बाहिरिएको हो ।

सन् २०१४ मा कम्पनीको डिभाइस तथा सर्भिस डिभिजन सात अर्ब अमेरिकी डलरमा अधिग्रहण भएको थियो । सन् २०१६ मा उक्त सौदाले पूर्णता पाएपछि नोकियाका पूर्व कार्यकारीहरूले एचएमडी ग्लोबल नामक एउटा कम्पनी बनाए ।

त्यसपछि स्मार्टफोन तथा ट्याब्लेटका लागि नोकिया ब्रान्ड प्रयोग गर्ने अधिकार प्राप्त गरे र त्यसपछि कम्पनी आफ्नै किसिमले चल्दै आएको हो । वास्तवमा कम्पनीले नयाँ ब्रान्डिङ थाल्नुभन्दा एक दिन अघि मात्र आफ्नो पछिल्लो मोबाइलको रुपमा जी२२ घोषणा गरेको छ ।

जसमा भने नोकियाकै पुरानो लोगो रहेको छ । फोनहरूमा सोही लोगोले निरन्तरता पाउँछ वा पाउँदैन भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन ।  

पछिल्लो अध्यावधिक: फागुन १५, २०७९ १०:१७