close

७० करोड डलर लगानीमा भारतमा बन्दै एप्पलको नयाँ प्लान्ट

टेकपाना टेकपाना

फागुन २१, २०७९ ११:२६

७० करोड डलर लगानीमा भारतमा बन्दै एप्पलको नयाँ प्लान्ट

काठमाडौं । आईफोन निर्माता कम्पनी फक्सकनले भारतमा उद्योग खोल्न ७० करोड डलर (साढे ९१ अर्ब रुपैयाँ भन्दा बढी) लगानी गर्ने योजना बनाएको छ । भारतको कर्नाटका राज्यमा कम्पनीले एप्पलको स्मार्टफोन उत्पादन बढाउनका लागि प्लान्ट स्थापना गर्न लागेको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यम ब्लुमबर्गका अनुसार भारतमा कम्पनीले २५ प्रतिशत उत्पादन विस्तार गर्दैछ । सोहीको तयारी स्वरुप यो प्लान्ट सञ्चालनमा ल्याउन लागिएको हो । 

यसका लागि भारतको आईटीहब भनेर चिनिने कर्नाटका राज्यको राजधानी बैङ्गलोर सहर नजिक ३०० एकर जमिनमा प्लान्ट निर्माण गर्न लागिएको हो । जहाँ आईफोनका लागि आवश्यक पाटपूर्जाहरूको निर्माण लगायत एसेम्बलका कामहरू हुनेछन् ।

उक्त प्लान्टले भारतमा एक लाख बढी रोजगारका अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ । योजनामै रहेको उक्त प्लान्ट चिनको जेङ्गजोउ (Zhengzhou) मा भएको सबैभन्दा ठूलो आईफोन प्लान्टको एक तिहाइ हुनेछ ।

फक्सकनले गत हप्ता तेलङ्गाना राज्यमा अर्को ठूलो इलेक्ट्रोनिक्स उत्पादन प्लान्ट निर्माण गर्ने योजनाको घोषणा गरेको छ । जसले थप एक लाख व्यक्तिलाई रोजगार दिने कम्पनीको अपेक्षा छ । तर उक्त प्लान्टमा एप्पल उत्पादन बन्ने वा नबन्ने भन्ने स्पष्ट छैन ।

उक्त प्लान्ट सञ्चालनमा आइसकेपछि भारतमा आईफोन उत्पादन २५ प्रतिशतसम्म बढ्ने अपेक्षा गरिएको छ ।

 

 

पछिल्लो अध्यावधिक: फागुन २१, २०७९ ११:२६