close

विद्युतीय चुलो प्रयोग गर्नेमा मधेस प्रदेश सबैभन्दा अगाडि

टेकपाना टेकपाना

चैत १०, २०७९ १३:४७

विद्युतीय चुलो प्रयोग गर्नेमा मधेस प्रदेश सबैभन्दा अगाडि

काठमाडौं । खाना पकाउन विद्युतीय ऊर्जा प्रयोग गर्नेमा मधेस प्रदेश सबैभन्दा अगाडि देखिएको छ । शुक्रबार सार्वजनिक राष्ट्रिय जनगणना २०७८ को विस्तृत प्रतिवेदन अनुसार यस्तो तथ्याङ्क बाहिर आएको हो ।

मधेस प्रदेशमा कूल नौ हजार ४६८ घरपरिवारले विद्युतीय चुलो प्रयोग गर्दै आएका छन् । त्यसपछि क्रमशः बाग्मती प्रदेशमा आठ हजार ८८७, कोशी प्रदेशमा छ हजार १७७, लुम्बिनी प्रदेशमा चार हजार ६९२, सुदूरपश्चिम प्रदेशमा एक हजार ६०७, गण्डकी प्रदेशमा एक हजार ३९० र कर्णाली प्रदेशमा ३५३ परिवारले विद्युतीय चुल्हो प्रयोग गर्दै आएको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै सहरी क्षेत्रमा २४ हजार ७२४ घरधुरी तथा ग्रामीण क्षेत्रमा सात हजार ८५० घरधुरीमा विद्युतीय चुलो प्रयोग हुने गरेको छ ।

यस्तै भौगोलिक हिसाबले सबैभन्दा धेरै २१ हजार १६४ घर परिवारले खाना पकाउन विद्युतीय ऊर्जा प्रयोग गर्दै आइरहेका छन् भने पहाडी क्षेत्रमा १० हजार ७०१ र हिमाली क्षेत्रमा ७०९ घर परिवारमा विद्युतीय चुल्हो प्रयोगमा छ ।

राष्ट्रिय जनगणना अनुसार जिल्लागत रुपमा काठमाडौंमा सबैभन्दा धेरै अर्थात चार हजार ६९४ घर परिवारमा विद्युतीय चुल्हो प्रयोग हुँदै आएको देखिन्छ । सबैभन्दा थोरै विद्युतीय चुल्हो प्रयोग गर्ने घर परिवार भएका जिल्लामा डोल्पा (१) र मनाङ (१) रहेका छन् । 

कूल ६६ लाख ६० हजार ८४१ घरपरिवार रहेको नेपालमा बाँकी ३३ लाख ९८ हजार ३१६ परिवारले काठ दाउरा र २९ लाख ४९ हजार ९९५ परिवारले ग्यास प्रयोग गर्दै आएका छन् ।

त्यस्तै, एक लाख ९१ हजार ५३१, बायो ग्यास ७८ हजार ४०६, मट्टितेल तीन हजार २९७ र बाँकी छ हजार ७२२ परिवार खाना पकाउन अन्य ऊर्जामा निर्भर रहेको राष्ट्रिय जनगणनामा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: चैत १०, २०७९ १४:०