close

पूर्वाधारमन्त्रीले ल्याए ‘हेलो सरकार’ जस्तै ‘हेलो पूर्वाधार’, गुनासो र सुझाव सजिलै टिपाउन सकिने

टेकपाना टेकपाना

असार ५, २०८३ १४:२४

पूर्वाधारमन्त्रीले ल्याए ‘हेलो सरकार’ जस्तै ‘हेलो पूर्वाधार’, गुनासो र सुझाव सजिलै टिपाउन सकिने

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले उजुरी लिन तथा गुनासो सुन्न ‘हेलो सरकार’ जस्तै ‘हेलो पूर्वाधार’ सेवा सञ्चालनमा ल्याएको छ । सर्वसाधारणका सडक, पुल, खानेपानी लगायतका पूर्वाधार निर्माण तथा सार्वजनिक सरोकारका विषयसँग जोडिएका समस्या र गुनासो सुन्न तथा समाधान गर्न यो सेवा सञ्चालनमा ल्याइएको हो ।

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आफ्नो फेसबुक पोस्टमार्फत नागरिकका समस्यालाई प्रभावकारी ढङ्गले सम्बोधन गर्न ‘हेलो पूर्वाधार’ सेवाको सुरुवात गरिएको उल्लेख गरेका छन् । जसअनुसार मन्त्रालयले प्रदान गर्ने सेवा र विकास निर्माणका विषयमा नागरिकले प्रत्यक्ष रूपमा आफ्ना गुनासो वा सुझाव फोन तथा सामाजिक सञ्जालमार्फत टिपाउन सक्नेछन् ।

यस सेवा अन्तर्गत सर्वसाधारणले निःशुल्क फोन सेवा (टोल फ्रि नम्बर) ११२० मा कार्यालय समयमा फोन गरेर आफ्ना गुनासो र सुझाव सिधै टिपाउन सक्नेछन् । त्यसैगरी, कार्यालय समयबाहेक अन्य समयमा अर्थात् २४सै घण्टा गुनासो दर्ता गर्नका लागि मोबाइल नम्बर +९७७ ९८५१४३१०६० (ह्वाट्सएप र भाइबर) तथा ईमेल [email protected] को व्यवस्था मिलाइएको छ ।

मन्त्री लम्सालले ‘हेलो पूर्वाधार’ अभियानलाई ‘तपाईंको गुनासो, हाम्रो चासो’ र ‘तपाईंको सरकार, तपाईंकै सेवामा’ भन्ने प्रतिबद्धताका साथ अघि सारेका छन् । 

थप जानकारीका लागि मन्त्रालयको आधिकारिक वेबसाइटसमेत प्रयोग गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असार ५, २०८३ १४:२९