क्रिकेट मैदानको विषयमा गलत पोस्ट लेखेपछि प्रचण्डपुत्री गंगा दाहालको आलोचना
चैत १३, २०७९ १२:५१
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्री गंगा दाहालले सामाजिक सञ्जाल फेसबुकमा राखेको कीर्तिपुरस्थित क्रिकेट रङ्गशालाबारेको पाेस्टको अत्यधिक आलोचना भएकाे छ ।
आइतबार दिउँसो सवा तीन बजे प्रधानमन्त्रीकाे निजी सचिवालयसमेत हेर्ने गंगाको फेसबुक अकाउन्टबाट एउटा पोस्ट भएको थियो, जहाँ उनले "सम्माननीय प्रधानमन्त्री प्रचण्डको निर्देशनमा कीर्तिपुर क्रिकेट मैदानमा फ्लड लाइट जडान कार्य सम्पन्न !" भनेर लेखेकी थिइन् ।
नभएकाे कामको प्रचार गरेको भन्दै उक्त पोस्टमा अत्यधिक आलोचनात्मक टिप्पणीहरू आउन थाले ।
त्यसपछि पौने चार बजे उनले सो पोस्ट एडिट गरिन्, जहाँ लेखिएकाे छ, "सम्माननीय प्रधानमन्त्री प्रचण्डको निर्देशनमा कीर्तिपुर क्रिकेट मैदानमा फ्लड लाइट जडान कार्य सम्पन्न गर्नका लागि राष्ट्रिय खेलकुद परिषद्ले प्रक्रिया अघि बढाएको छ । द्रुत गतिमा सम्पन्न भएपछि रङ्गशाला यो आकारमा देखिनेछ ।"
उक्त पोस्ट एडिट गरेर राखिएको भन्दै पुनः आलोचना हुन थालेपछि दाहालले स्पष्टीकरण दिएकी छन् ।
"कीर्तिपुरस्थित क्रिकेट रङ्गशालामा फ्लड लाइट र स्कोर बोर्ड राख्न यसअघि नै सम्माननीय प्रधानमन्त्रीले राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिनुभएकोमा परिषद्ले सोहीअनुरूप काम अगाडि बढाएको छ," स्पष्टीकरण दिँदै दाहालले लेखेकी छन्, "सो रङ्गशालामा काम अगाडि बढेको हुनुपर्नेमा गलत सूचनाका कारण भुलवश निर्माण सम्पन्न भएको भन्ने स्टाटस पोस्ट हुन गएको छ । तसर्थ, शब्दलाई भन्दा विषयको भावलाई सोहीअनुरूप बुझिदिनुहुन सबैमा आग्रह गर्दछु धन्यवाद ।"
सो पोस्टमा पनि मिश्रित प्रतिक्रियाहरू आएका छन् ।
पछिल्लो अध्यावधिक: चैत १३, २०७९ १३:०
