close

एमएसआईको १५०० जीबी डेटा चोरी, ५२ करोड बढी फिरौती माग

टेकपाना टेकपाना

चैत २७, २०७९ ८:५३

एमएसआईको १५०० जीबी डेटा चोरी, ५२ करोड बढी फिरौती माग

काठमाडौं । ताइवानस्थित हार्डवेयर निर्माता कम्पनी एमएसआई (माइक्रो स्टार इन्टरनेस्नल) माथि साइबर आक्रमण भएको छ । 

ह्याकरले कम्पनीको सिस्टममा आक्रमण गरी १५ सय जीबी डेटा चोरी गरेको हो । कम्पनीले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो सूचना प्रणालीमा साइबर आक्रमण भएको पुष्टि गरेको छ । 

साइबर आक्रमणपछि कम्पनीको सूचना विभागले सुरक्षा संयन्त्रलाई सक्रिय गरि सिस्टम रिकभर गरेको कम्पनीको दाबी छ । कम्पनीका अनुसार साइबर आक्रमणबाट प्रभावित सबै प्रणालीहरू पहिलेजस्तै सामान्य अवस्थामा छन् ।

ताइवानको यो कम्पनीले प्रयोगकर्तालाई ह्याकरको आक्रमणबाट जोगिन बायोस (BIOS) तथा फर्मवेयर (Firmware) अपडेट डाउनलोड गर्न अनुरोध गरेको छ । 

उता कम्पनीले भने कति र कस्ता डेटा चोरी भएका छन् भन्नेबारे कुनै औपचारिक सूचना दिइसकेको छैन । तर यता ह्याकरले भने आफूले १५०० जीबी डेटा चोरी गरेको दाबी गरेका छन् । जसका लागि उनीहरूले ४० लाख डलर (करिब ५३ करोड रुपैयाँ) माग गरेका छन् ।

एमएसआई ताइवानको बहुराष्ट्रिय कम्पनी हो, जसले कम्प्युटरका हार्डवेयर डिजाइन, विकास तथा उत्पादन गर्ने गर्छ । 

त्यसबाहेक पनि उक्त कम्पनीले ल्यापटप, डेस्कटप, मोदरबोर्ड, ग्राफिक्स कार्ड जस्ता उपकरण उत्पादन गर्दै आएको छ ।

 

पछिल्लो अध्यावधिक: चैत २७, २०७९ ८:५४