काठमाडौं । ट्वीटरले 'सरकारबाट पोषित मिडिया'को ट्याग दिएपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले आपत्ति जनाएको छ । एलन मस्क स्वामित्वकाे ट्वीटरले सोमबार बीबीसीलाई 'गभरमेन्ट फन्डेड मिडिया'को ट्याग दिएकाे थियाे ।
बीबीसीको मुख्य ट्वीटर ह्यान्डलमा 'गभरमेन्ट फन्डेड मिडिया'को ट्याग देखेपछि कम्पनीले ट्वीटरलाई सम्पर्क गरेको थियो । बीबीसीको ट्वीटर ह्यान्डल (@BBC) मा गएपछि यजुरनेमको तल 'गभरमेन्ट फन्डेड मिडिया' अर्थात् सरकारद्वारा पोषित मिडियाको ट्याग देख्न सकिन्छ ।
उक्त ट्यागमा क्लिक गरेको खण्डमा ट्वीटरको हेल्प सेन्टरमा पुगिन्छ, जहाँ गभरमेन्ट फन्डेड मिडिया कस्तोलाई भनिन्छ भन्ने कुरा उल्लेख गरिएको छ । यस्ता मिडियाको परिभाषा पनि ट्वीटरले रोचक तरिकाले दिएको छ ।
ट्वीटरका अनुसार 'स्टेट एफिलिएटेड मिडिया' वा 'गभरमेन्ट फन्डेड मिडिया' भनेका त्यस्तो सञ्चारमाध्यम हुन्, जसको सम्पादकीय सामग्रीमाथि सरकारको नियन्त्रण हुन्छ । आफ्नो ट्वीटर ह्यान्डलमा यस्तो ट्याग देखेपछि बीबीसीले एक विज्ञप्ति जारी गरेको छ ।
"बीबीसी सधैं एक स्वतन्त्र सञ्चारमाध्यम हो । हामी लाइसेन्स शुल्कमार्फत बेलायती जनताद्वारा फन्डेड मिडिया हो," विज्ञप्तिमा लेखिएको छ ।
सन् १९२७ देखि नै बीबीसी रोयल चार्टरद्वारा सञ्चालित छ, जसमा बीबीसी 'स्वतन्त्र माध्यम हुनुपर्ने' भनिएको छ । स्वतन्त्र यस अर्थमा कि उक्त मिडियाले प्रकाशन गरेका सम्पादकीय, रचनात्मक निर्णय, मिडियामा विभिन्न काम, मिडियाले प्रवाह गर्ने सेवा तथा व्यवस्थापनमाथि कसैको नियन्त्रण नहुने उल्लेख गरिएको छ ।
यसो त बेलायतका प्रत्येक नागरिकले उक्त मिडिया सञ्चालनमा ल्याउन हरेक वर्ष १५९ पाउन्ड (करिब २५ हजार ८०० रुपैयाँ) तिरेका हुन्छन् । यो शुल्क सरकारले निर्धारण गरेको भएपनि हरेक परिवारले तिर्नुपर्ने हुन्छ ।
बीबीसीको गुनासोलाई जवाफ दिँदै मस्कले सोधेका छन्, "ट्वीटर लेबल सही छ ?" बीबीसीलाई ईमेल पठाउँदै मस्कले लेखेका छन्, "हामी अधिकतम पारदर्शिता र शुद्धतामा लक्षित छौँ । विशेषगरी स्वामित्व र कोषको स्रोतले राख्दा यसले खास अर्थ दिने हाम्रो विश्वास छ ।"
उनले अगाडि लेखेका छन्, " मलाई लाग्छ कि, मिडिया सङ्गठनहरू आत्म-सजग (सेल्फ अवेयर) हुनुपर्छ र पूर्वाग्रहसहित झुटो दाबी गर्नु हुँदैन । सबै सङ्गठनहरूसँग पूर्वाग्रह छ । केही कम पूर्वाग्रही छन् भने केही धेरै नै पूर्वाग्रही छन् । मलाई लाग्छ यीमध्ये बीबीसी कम पूर्वाग्रही मिडिया हो । त्यसकारण पनि मैले ट्वीटरमा बीबीसीलाई फलो गरेको छु ।"
२२ लाख बढी फलोअर भएको बीबीसीको मुख्य अकाउन्टलाई मात्र ट्वीटरले यस्तो लेबल दिएको छ । बीबीसीका अन्य प्रख्यात ट्वीटर ह्यान्डलमा जस्तै बीबीसी न्युज र बीबीसी ब्रेकिङ न्युजमा भने यस्तो लेबल राखिएको छैन ।
बीबीसीबाहेक अमेरिकाको नेसनल पब्लिक रेडियो (एनपीआर) लाई पनि 'स्टेट एफिलिएटेड मिडिया'को लेबल दिएको छ । साथै रूसको आरटी र चीनको सिन्हुवा न्युजले पनि यस्तो लेबल पाएका छ ।
यसअघि स्टेट एफिलिएटेड मिडियाको लेबल दिइएको ट्यागलाई ट्वीटरले परिवर्तन गरेर 'गभरमेन्ट फन्डेड मिडिया' ट्यागमा परिणत गरेको छ । र, उक्त ट्याग बीबीसीको आधिकारिक ट्वीटर ह्यान्डलमा लागु गरिएको छ ।