close

अझै रोकिएन अनलाइन खबरको 'भेरिफाइड' पेजबाट भइरहेको साइबर आक्रमण

टेकपाना टेकपाना

चैत २९, २०७९ १३:३६

अझै रोकिएन अनलाइन खबरको 'भेरिफाइड' पेजबाट भइरहेको साइबर आक्रमण

काठमाडौं । नेपालकै चर्चित अनलाइन सञ्चार माध्यम अनलाइन खबरको आधिकारिक (भेरिफाइड) फेसबुक पेजबाट भइरहेको साइबर (फिशिङ) आक्रमण रोकिएको छैन । यसअघि नै प्रकाशमा आएको यो घटना पुनः दोहोरिएको हो ।

यसअघिको घटनामा कम्पनीले सार्वजनिक सूचना नै जारी गर्दै उक्त घटनाको  विषयलाई लिएर क्षमायाचना समेत गरेको थियो ।

अहिले अनलाइन खबरको भेरिफाइड पेजबाट विभिन्न लिंक राखेर पाेस्ट भइरहेकाे छ ।

यसअन्तर्गत नेपाली चलचित्र 'जारी'को हलमा हुने प्रदर्शन रद्द भएको र सित्तैमा हेर्न सकिने गरी रिलिज भएको भन्दै एउटा लिङ्क राखिएको पोस्ट बुस्ट गरिएको छ । जसको क्याप्सनमा बिग मुभीको पछिल्लो घोषणा अनुसार फिल्मले थिएटरमा प्रदर्शन रद्द गरी निःशुल्क हेर्नका लागि रिलिज गरेको दाबी गरिएको छ ।

''त्यस्तै सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दाः सन्दीप लामिछानेले बालिकालाई बलात्कार गरेको आरोप लगाएको भिडियो फेसबुक र टिकटकमा पोस्ट गरिएको थियो ।'' भन्ने शीर्षक राखी अर्को स्क्याम लिंक बुस्ट भएको देख्न सकिन्छ । 

No description available.

सामान्य प्रयोगकर्ताले भेरिफाइड पेजबाटै आएको उक्त सामग्री आधिकारिक ठानेर लिङ्कमा क्लिक गरेर भित्र जाने जोखिम उच्च छ । लिङ्क भित्र राखिएको फाइलमा मालवेयर राखिएको छ ।

जसमा क्लिक गर्ने वित्तिकै प्रयोगकर्ताको मोबाइल तथा कम्प्युटरमा उक्त मालवेयर स्वतः डाउनलोड हुन्छ । यसबाट प्रयोगकर्ताको व्यक्तिगत जानकारीका साथै सामाजिक सञ्जाल तथा अन्य एप्लिकेसनको पहुँच समेत ह्याकरको हातमा पुग्न सक्ने जोखिम रहेको साइबर सुरक्षाका जानकारीहरूले बताएका छन् । 

No description available.

अनलाइन खबरका अध्यक्ष तथा प्रबन्ध निर्देशक धर्मराज भुषालले पछिल्लो कारण पत्ता लगाउने प्रयास भइरहेको बताए । "यसमा हाम्रो कुनै पनि इन्टेन्सनल होइन र हाम्रो तर्फबाट त्यो भएको पनि होइन," उनले भने, "कहाँबाट कसरी पेज दुरुपयोग भइरहेको भन्ने विषय पहिचान गरेर त्यस्तो पोस्ट हटाउने प्रयासमा छौं ।" 

जब कि त्यसमा राखिएको लिङ्क अनलाइन खबरको वेबसाइट (onlinekhabar.com) को होइन । त्यसमा गुगलको लिङ्क (sites.google.com) राखिएको छ । 

पछिल्लो अध्यावधिक: चैत २९, २०७९ १४:८