कक्षा १२ पछि आईटी पढ्ने सोचमा हुनुहुन्छ ? यी १० गल्ती गर्नबाट जोगिनुहोस्
असार ३१, २०८३ २२:४४
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेसँगै देशभरका विश्वविद्यालय तथा कलेजहरूले स्नातक तहका विभिन्न कार्यक्रमका लागि भर्ना प्रक्रिया सुरु गरेका छन् । पछिल्ला केही वर्षयता सूचना प्रविधि (आईटी) क्षेत्रप्रति विद्यार्थीको आकर्षण बढेको छ । नेपालमै आईटी कम्पनीहरूको विस्तार, विदेशबाट रिमोट रोजगारीको अवसर, डिजिटल सेवा र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो प्रयोगले पनि धेरै विद्यार्थीलाई आईटी अध्ययनतर्फ आकर्षित गरेको हो ।
तर, आईटी पढ्ने निर्णय मात्र पर्याप्त हुँदैन । विषय, विश्वविद्यालय वा कलेज छनोटदेखि भविष्यको करियर योजना बनाउनसम्म विद्यार्थीले गर्ने केही सामान्य गल्तीले उनीहरूको अध्ययन र व्यावसायिक भविष्यमा असर पार्न सक्छ । ।
१. आफ्नो लक्ष्यअनुसार कोर्स छनोट नगर्ने
धेरै विद्यार्थीले साथीभाइको प्रभाव, सामाजिक सञ्जाल वा अरूको सल्लाहका आधारमा कोर्स छनोट गर्ने गर्छन् । तर प्रत्येक आईटी कार्यक्रमको उद्देश्य र पाठ्यक्रम फरक हुन्छ ।
जस्तै, कुनै कोर्समा प्रोग्रामिङ र सफ्टवेयर डेभलपमेन्टमा बढी जोड दिइन्छ भने कुनैमा नेटवर्किङ, साइबर सेक्युरिटी, डेटा साइन्स वा इन्फर्मेसन सिस्टममा । त्यसैले आफू भविष्यमा कुन क्षेत्रमा काम गर्न चाहन्छु भन्ने स्पष्ट योजना बनाएर मात्र कोर्स छनोट गर्नुहोस् ।
२. पाठ्यक्रम नहेरी भर्ना हुने
धेरै विद्यार्थीले विश्वविद्यालय वा कलेजको नाम मात्र हेरेर भर्ना हुने गर्छन् । तर एउटै नामका कोर्स पनि फरक विश्वविद्यालयमा फरक विषयवस्तुका साथ पढाइ हुन सक्छन् ।
भर्नाअघि सम्बन्धित विश्वविद्यालयको पाठ्यक्रम हेरेर त्यसमा आधुनिक प्रविधि, एआई, क्लाउड कम्प्युटिङ, साइबर सुरक्षा, डेटा एनालिटिक्स लगायतका विषय समावेश छन् कि छैनन् भन्ने बुझ्न आवश्यक हुन्छ ।
३. विदेश नै सबैभन्दा राम्रो विकल्प हो भन्ने सोच्ने
कक्षा १२ पछि धेरै विद्यार्थीको पहिलो सोच विदेश जाने हुन्छ । तर नेपालकै त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय लगायतका संस्थामा पनि अन्तर्राष्ट्रिय स्तरका आईटी कार्यक्रम सञ्चालन भइरहेका छन् ।
विशेषगरी प्रवेश परीक्षामा राम्रो नतिजा ल्याउन सके तुलनात्मक रूपमा कम शुल्कमै गुणस्तरीय शिक्षा लिन सकिन्छ । यसतर्फ ध्यान दिनुहोस् । अर्कोतर्फ विदेशी विश्वविद्यालयका आईटी डिग्री पनि यहीँ सञ्चालन भइरहेका छन् । विदेशी डिग्री रोज्नुअघि विश्वविद्यालयको मान्यता, पाठ्यक्रम, शुल्क, क्रेडिट ट्रान्सफर, इन्टर्नसिप र रोजगारीको सम्भावनालाई तुलना गरेर मात्र निर्णय गर्नु उपयुक्त हुन्छ ।
४. कलेजको विज्ञापनमा मात्र भर पर्ने
राम्रो भवन, आकर्षक विज्ञापन वा सामाजिक सञ्जालको प्रचार हेरेर मात्रै कलेज छनोट गर्नु उपयुक्त हुँदैन । कलेजमा ल्याब, अनुभवी शिक्षक, नियमित प्राक्टिकल क्लास, उद्योगसँगको सहकार्य, इन्टर्नशिपको अवसर र पूर्वविद्यार्थीको अनुभव जस्ता पक्षलाई पनि उत्तिकै महत्त्व दिनुपर्छ ।
५. इन्टर्नशिप र उद्योगसँगको सम्बन्ध नबुझ्ने
आईटी क्षेत्रमा सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक अनुभव पनि आवश्यक हुन्छ । कलेजले विद्यार्थीलाई कुन कम्पनीमा इन्टर्नशिप गराउँछ, उद्योगसँगको सहकार्य कस्तो छ, परियोजनामा काम गर्ने अवसर दिन्छ कि दिँदैन भन्ने विषय बुझेर मात्रै निर्णय गर्नु राम्रो हुन्छ ।
६. पढाइपछि के गर्ने भन्ने योजना नबनाउने
आईटी पढिसकेपछि सबैले एउटै काम गर्दैनन् । कोही सफ्टवेयर डेभलपर बन्छन्, कोही साइबर सुरक्षा विशेषज्ञ, डेटा विश्लेषक, नेटवर्क इन्जिनियर, एआई इन्जिनियर वा उद्यमी बन्छन् । त्यसैले अध्ययन सुरु गर्नुअघि नै आफू कुन क्षेत्रमा अघि बढ्ने भन्ने मोटामोटी योजना बनाउनु आवश्यक हुन्छ ।
७. सीपको बजारबारे जानकारी नलिने
आजको रोजगारी बजारमा डिग्रीभन्दा सीपलाई बढी प्राथमिकता दिइन्छ । नेपाल र विदेशका कम्पनीहरूले कुन-कुन प्रविधि र सीप भएका जनशक्ति खोजिरहेका छन् भन्ने जानकारी विद्यार्थीले अध्ययनकै क्रममा लिनुपर्छ । यसले आवश्यक अतिरिक्त सीप सिक्न पनि सहयोग गर्छ ।
८. महँगा डिभाइस नै आवश्यक हुन्छ भन्ने भ्रम पाल्ने
धेरै विद्यार्थीले आईटी पढ्न निकै महँगो ल्यापटप वा स्मार्टफोन अनिवार्य चाहिन्छ भन्ने सोच्ने गर्छन् । तर सबै कोर्सका लागि सुरुमै उच्च मूल्यका उपकरण आवश्यक नहुन सक्छन् । आफ्नो अध्ययनको आवश्यकता अनुसार उपयुक्त प्रोसेसर, पर्याप्त र्याम र स्टोरेज भएको डिभाइस छनोट गरे पुग्छ ।
९. कलेजको प्लेसमेन्ट रेकर्ड नहेर्ने
धेरै कलेजले उत्कृष्ट प्लेसमेन्टको दाबी गर्छन् । तर भर्नाअघि त्यहाँका पूर्वविद्यार्थी कहाँ काम गरिरहेका छन्, कलेजले कस्ता कम्पनीसँग सहकार्य गरेको छ र क्याम्पस प्लेसमेन्टको अवस्था कस्तो छ भन्ने बुझ्नुपर्छ ।
१०. पढाइसँगै अतिरिक्त सीप विकास नगर्ने
आईटी क्षेत्र निरन्तर परिवर्तन भइरहेको क्षेत्र हो । कलेजको पाठ्यक्रममा मात्र सीमित हुँदा प्रतिस्पर्धामा पछि पर्न सकिन्छ ।
अनलाइन कोर्स, ओपन सोर्स प्रोजेक्ट, ह्याकाथन, प्रोग्रामिङ प्रतियोगिता, सर्टिफिकेसन र व्यक्तिगत प्रोजेक्टमा सहभागी हुँदै अतिरिक्त सीप विकास गर्नु दीर्घकालीन करियरका लागि महत्त्वपूर्ण मानिन्छ ।
सही निर्णयले भविष्य बदल्न सक्छ
आईटी अध्ययन गर्नु भनेको केवल एउटा डिग्री हासिल गर्नु होइन । भविष्यको करियर निर्माण गर्नु पनि हो । त्यसैले विद्यार्थीले भर्ना प्रक्रियामा हतार नगरी आफूले पढ्न चाहेको कोर्स, विश्वविद्यालय, कलेज, पाठ्यक्रम, प्रयोगशाला, इन्टर्नशिप, प्लेसमेन्ट र भविष्यको करियर योजनाबारे पर्याप्त जानकारी लिएर मात्र निर्णय गर्नु उपयुक्त हुन्छ ।
सही कोर्स र सही शैक्षिक संस्था छनोट गर्न सकियो भने आईटी क्षेत्रमा नेपालमै मात्र नभई विश्वव्यापी रूपमा पनि उत्कृष्ट अवसर प्राप्त गर्न सकिन्छ ।
(लेखक मोरङका टेकराज गुरागाँई कम्प्युटर विज्ञान शिक्षक एवम सूचना प्रविधि उद्यमी हुन् ।)
पछिल्लो अध्यावधिक: असार ३१, २०८३ २३:५
