काठमाडौं । भक्तपुरस्थित डिभाइन युथ क्लबले एसईई दिएका विद्यार्थीका लागि आयोजना गरेको 'एसईई स्प्रिचुअल क्याम्प' मा साइबर सुरक्षासम्बन्धी तालिम दिइएको छ । तीन दिनसम्म आयोजना भएको उक्त कार्यक्रमकाे अन्तिम दिन विद्यार्थीलाई साइबर सुरक्षासम्बन्धी तालिम दिइएकाे हाे ।
कार्यक्रममा सहभागी काठमाडौं तथा पोखराका ६० विद्यार्थीलाई कर्मन रिसर्च एण्ड ट्रेनिङ सेन्टरका प्रशिक्षकले सहजीकरण गरेका हुन् ।
साइबर सुरक्षा सम्बन्धी विभिन्न विषयमा तालिम दिइएको कर्मन रिसर्च एण्ड ट्रेनिङ सेन्टरका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) ऋषितोष घतानीले जानकारी दिए ।
"साइबर सुरक्षा के हो, इन्टरनेटमा कस्ता साइबर आक्रमण हुन्छन्, साइबर बुलिङ कसरी हुन्छ, फिशिङ स्क्याम र सोसल इन्जिनियरिङ आक्रमण के हाे, अनि यस्ता जाेखिमबाट कसरी सुरक्षित रहने भन्ने विषयमा प्रशिक्षण दिएका हाैँ,'' उनले भने ।
साथै आफूहरूले साइबर सुरक्षासम्बन्धी अर्काे सचेतना कार्यक्रम पनि आयोजना गर्न लागेकाे उनले जानकारी दिए । यसअन्तर्गत १५ वर्षमाथिका विद्यार्थीलाई 'साइबर सेक्युरिटी फाउन्डेसन' कार्यक्रममार्फत साइबर सुरक्षासम्बन्धी तालिम दिइने उनले जनाए ।