close

अब टिभीमा युट्युब हेर्दा ३० सेकेन्डसम्म विज्ञापन स्किप गर्न नमिल्ने

टेकपाना टेकपाना

जेठ ५, २०८० १०:०

अब टिभीमा युट्युब हेर्दा ३० सेकेन्डसम्म विज्ञापन स्किप गर्न नमिल्ने

काठमाडौं । ठूलो स्क्रिनमा युट्युब हेर्ने प्रयोगकर्ताका लागि कम्पनीले ३० सेकेन्डसम्मको अनस्किपेबल एड (हटाउन नमिल्ने विज्ञापन) ल्याउने भएको छ ।  बुधबार न्यूयोर्क राज्यमा आयोजित 'युट्युब ब्रोडकास्ट' कार्यक्रममा कम्पनीले यस्तो घोषणा गरेको हो ।

कम्पनीले स्मार्ट टेलिभिजनमा युट्युब हेर्ने प्रयोगकर्तालाई प्रभाव पार्ने किसिमका दुई ओटा महत्त्वपूर्ण घोषणा गरेको छ । सबैभन्दा पहिले युट्युटबमा बढी प्रयोगकर्ताले रुचाएको भिडिओ हेर्दा ३० सेकेन्डसम्मको हटाउन नमिल्ने विज्ञापन राख्ने कम्पनीले बताएको छ । 

कम्पनीका अनुसार 'युट्युब सेलेक्ट अम्ब्रेला' (विशेष क्याटगरीमा पर्ने भिडिओ) क्याटगोरीमा पर्ने भिडिओमा सो नियम लागू हुनेछ । अर्थात् धेरै लाइक, कमेन्ट, भ्युज भएको भिडिओमा मात्र यो नियम लागू हुनेछ ।  

प्रयोगकर्ताको सहजताका लागि १५-१५ सेकेन्डका दुईओटा विज्ञापन देखाउनुभन्दा एउटा ३० सेकेन्डको विज्ञापन देखाउन उपयुक्त हुने भन्दै कम्पनीले यस्तो निर्णय लिएको हो । अन्य डिभाइसको तुलनामा टिभीमा युट्युब हेर्ने प्रयोगकर्ताले कुनै पनि सामग्री लगातार हेर्ने गर्छन् । यसले गर्दा नयाँ विज्ञापन नियम टिभीमा उपयुक्त हुने कम्पनीको भनाइ छ ।  

दोस्रो, कम्पनीले स्मार्ट टिभीमा युट्युब हेर्ने प्रयोगकर्ताका लागि 'पज एड्स' (Pause Ads) फिचर ल्याउन लागेको जनाएको छ । यो फिचर अन्तर्गत प्रयोगकर्ताले हेर्दा हेर्दै भिडिओ पज (रोकेको) गरेको अवस्थामा विज्ञापन देखिनेछ । यस्तो हुँदा तपाईंले आफूलाई उपयुक्त हुने समयमा भिडिओ पज गरेर विज्ञापन हेर्न सक्नुहुन्छ । यी फिचर कहिले उपलब्ध हुन्छन् भन्नेबारे कम्पनीले खुलाएको छैन । 

 

पछिल्लो अध्यावधिक: जेठ ५, २०८० १०:०