close

इन्जिनियरिङ विद्यार्थीलाई नाइजेरियाली विश्वविद्यालयभन्दा राम्रो पढाउँछन् भारतीय युट्युबर

टेकपाना टेकपाना

भदौ ३१, २०८० ११:४२

इन्जिनियरिङ विद्यार्थीलाई नाइजेरियाली विश्वविद्यालयभन्दा राम्रो पढाउँछन् भारतीय युट्युबर

काठमाडौं । एउटा थ्रेड अन्तरक्रियाका क्रममा नाइजेरियामा रहेका एक ट्वीटर प्रयोगकर्ताले लेखे, "विश्वविद्यालयहरूमा रहेका अधिकांश इन्जिनियरिङ विद्यार्थीको सफलतामा युट्युबमा रहेका भारतीयहरू जिम्मेवार छन् ।" उक्त ट्वीटले ३८ हजार लाइक र नौ हजार रिट्वीट पाएको छ ।

जसमा थुप्रै नाइजेरियाली विद्यार्थीले भारतीय युट्युबर प्रति कृतज्ञता दर्शाएका छन् । इन्जिनियरिङका विद्यार्थीका लागि युट्युबमा अनलाइन ट्युटोरियल उपलब्ध गराउने भारतीय शिक्षासेवी नाइजेरियामा निकै लोकप्रिय छन् ।

अतिरिक्त प्राज्ञिक सहायताका लागि त्यहाँका विद्यार्थीहरू उनीहरूमाथि निर्भर छन् । कतिपय दृष्टान्त त यस्ता पनि छन्, नाइजेरियाली विद्यार्थीहरूले आफ्नो कक्षा कोठा भन्दा भारतीय युट्युबर प्रशिक्षक बढी स्रोत साधन युक्त रहेको बताउने गर्छन् ।

"म अन्डर ग्य्राजुएट पढ्ने समयमा कक्षा कोठामा जे पढाइन्थ्यो, त्यो विद्यार्थीका लागि कोर्सको गहन बुझाइका लागि पर्याप्त हुँदैन थ्यो । त्यो रिक्तता पूरा गर्न भारतीय युट्युबरले सहयोग गरे र केही भिन्नता दिलाए," फासोमिनु ओलुवाफेमीका इलेक्ट्रोनिक्स इन्जिनियरले रेस्ट अफ वर्ल्डलाई बताएका छन् ।

ओगुनमा रहेको बेल्स युनिभर्सिटी अफ टेक्नोलोजीमा पढेका उनले अगाडि भनेका छन्, "भाषिक लवजले बाधा पुर्‍याए पनि उनीहरू (भारतीय युट्युबर) अहिले पनि मलाई जटिल कोर्स बुझ्न मलाई निकै नै सहयोग पुर्‍याइरहेका हुन्छन् । जुन विश्वविद्यालयका कक्षाहरूमा दिइने लेक्चरभन्दा निकै नै उत्कृष्ट हुने गर्थे ।"

एनपीटेल आआईटी गुवाहटी (NPTEL IIT Guwahati), अब्दुल बारी (Abdul Bari), मोनाका एकेडेमी (Monacha Academy) र अल अबाउट इलेक्ट्रोनिक्स नाइजेरियामा लोकप्रिय भारतीय युट्युब च्यानलहरू मध्येमा पर्छन् । ओरो ओकोलोको नाइजेरियाली डेटा एनालिस्ट हुन् ।

केमिकल इन्जिनियरिङका पूर्व विद्यार्थी उनी फेडरल युनिभर्सिटी अफ पेट्रोलियम रिसोर्समा आफ्नो अन्तिम वर्षको अध्ययनका लागि एनपीटीईएल आईआईटी गुवाहटी च्यानलमा असाध्यै निर्भर भएकी थिइन् ।

"जब म कुनै निश्चित अवधारणा बुझ्न सक्थिनँ, त्यतिबेला व्यक्तिगत रूपमा मेरा लागि सम्पर्कको पहिलो विकल्प भनेकै भारतीय युट्युबर हुन्थे ।" रेस्ट अफ वर्ल्डका अनुसार एनपीटीईएल आईआईटी गुवाहटीका एक प्रतिनिधिले थुप्रै नाइजेरियन विद्यार्थीहरू आफूहरूको सामग्री प्रयोग गर्ने गरेको विषयमा जानकार रहेको बताएका छन् ।

"उनीहरूले कमेन्टमार्फत हामीले उपलब्ध गराएका सामग्रीको प्रशंसा गर्दै थुप्रै सङ्ख्यामा कमेन्ट गरिरहेका हुन्छन्," उनले भनेका छन्, "अफ्रिकीहरूका लागि हाम्रा भिडिओहरू मूल्यवान् स्रोत बनेको कुरा थाहा पाउँदा अत्यन्तै गर्वको महसुस हुन्छ, विशेषगरी नाइजेरियन विद्यार्थीहरूको शैक्षिक यात्रामा साथ दिन पाउँदा र उनीहरूलाई आफ्नो लक्ष्य प्राप्तिमा सहयोग गर्न पाउँदा ।"

भारतीय युट्युबर अब्दुल बारी कम्प्युटर इन्जिनियरिङ विषय सम्बन्धी ट्युटोरियलहरू अपलोड गरिरहेका हुन्छन् । उनी आफ्नो च्यानलको खासगरी नाइजेरियाली विद्यार्थी माझ रहेको पहुँचको विषयमा राम्रैसँग जानकार छन् ।

नाइजेरियाली विद्यार्थीको भौगोलिक अवस्थिति अमिल्दो भए पनि उनी भने आफ्ना भिडिओ उनीहरूका लागि सान्दर्भिक रहून् भन्नेमा भरमग्दुर प्रयास गर्दै आएका छन् ।

"विशेषगरी उनीहरूको आवश्यकतालाई सम्बोधन गर्नेगरी भिडिओ बनाउन मैले कुनै प्रयास गरेको छैन, तर मैले बुझेसम्म नाइजेरियाको शैक्षिक प्रणाली र परीक्षाको तौरतरिका मौलिक किसिमको हुनुपर्छ । मैले जहिले पनि समावेशी किसिमका सामग्री बनाइरहेको हुन्छ, त्यसबाट विभिन्न पृष्ठभूमि र भूभागमा रहेका विद्यार्थीले लाभ लिन सक्छन् ।"

भारतीय इन्जिनियरिहरूले अनलाइनमा पढाउने कुरा कुनै आश्चर्यको विषय होइन । भारतमा प्रत्येक वर्ष करिब १५ लाख ताजा इन्जिनियरिङ ग्र्याजुएट्सहरू तयार हुन्छन् ।

त्यहाँका शीर्ष १० उच्च शिक्षा संस्था सबै सरकारी हुन्, जो विज्ञान तथा प्रविधिमा केन्द्रित छन् । जुन नाइजेरियाली शैक्षिक प्रणालीभन्दा निकै अलग छ ।

नाइजेरियाका शिक्षण संस्था अपर्याप्त बजेटको सामना गरिरहेका छन् । नाइजेरियामा भारतीय युट्युबर लोकप्रिय हुनुको कारण उनीहरूको सिकाउने तरिका र जटिल अवधारणालाई सहज किसिमले प्रस्तुत गर्ने क्षमता नै हो । 

 

पछिल्लो अध्यावधिक: भदौ ३१, २०८० ११:५३