close

करको दर हेरफेरमा घुसपैठ भएको छैन, रामकृष्ण श्रेष्ठले कम्प्युटरमा ‘इन्ट्री’ मात्रै गरेका हुन्ः अर्थमन्त्री

टेकपाना टेकपाना

जेठ २३, २०८० १५:२३

करको दर हेरफेरमा घुसपैठ भएको छैन, रामकृष्ण श्रेष्ठले कम्प्युटरमा ‘इन्ट्री’ मात्रै गरेका हुन्ः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले करको दर हेरफेरबारे अनधिकृत व्यक्तिको संलग्नता नरहेको स्पष्टीकरण दिएका छन् ।

सञ्चारमाध्यममा बजेट आउनु अघिल्लो रात असम्बन्धित व्यक्तिको संलग्नता रहेको समाचार आएपछि मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले अर्थमन्त्रीको जवाफ मागेका थिए ।

मन्त्री महतले बजेटको कर दायरा आधिकारिक व्यक्तिले नै हेरफेर गरेको र यसलाई कम्प्युटरमा इन्ट्री गर्न पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठलाई जिम्मा दिएको जवाफ दिए । आफू आउनुअगाडि नै सहयोगीका लागि रामकृष्ण श्रेष्ठको नियुक्ति भइसकेको भन्दै उनले आफ्नो इमान्दारितामाथि शंका नगर्न आग्रह गरे । 

उनले रामकृष्ण श्रेष्ठले यसअघि नै बजेट टाइपिङ लगायतमा सहयोगीको भूमिका निर्वाह गरेको र निर्णय प्रक्रियामा बसेका पदाधिकारीको उपस्थिति र निर्देशनमा उनलाई​ इन्ट्री गर्न लगाइएकाे प्रष्टीकरण दिए ।

''बजेटमा पारदर्शी नभएको, अनधिकृत व्यक्तिको प्रवेश लगायत विषयमा शंका गर्नुपर्दैन'' महतले भने, 'बजेट निर्माणदेखि करका दरहरु हेरफेरमा आधिकारिक प्रतिनिधिहरुबाट स्वतन्त्रपूर्वक निर्णय भएको छ ।’

उनले अगाडि भने, ''निर्णय प्रक्रियामा उहाँ (रामकृष्ण श्रेष्ठ) हुने कुरै भएन । निर्णय गरिसकेपछि निर्णय प्रक्रियामा बसेका पदाधिकारीको उपस्थिति र निर्देशनमा यो यो इन्टर गर भनेर इन्टर गर्ने काम मात्र हो ।''

पछिल्लो अध्यावधिक: जेठ २३, २०८० १५:२७