close

थ्रेड सार्वजनिक गरेसँगै ११ वर्षपछि मार्क जुकरबर्गको पहिलो ट्वीट, दिए लडाइ सुरु भएको सङ्केत

टेकपाना टेकपाना

असार २१, २०८० १०:४१

थ्रेड सार्वजनिक गरेसँगै ११ वर्षपछि मार्क जुकरबर्गको पहिलो ट्वीट, दिए लडाइ सुरु भएको सङ्केत

काठमाडौं । एलन मस्कले कुस्ती खेल्न चुनौति दिएपछि मार्क जुकरबर्गले सन् २०१२ यता पहिलो पटक ट्वीट गरेका छन् । ट्वीटरको प्रतिस्पर्धी सामाजिक सञ्जाल थ्रेड सार्वजनिक गरेको केही घण्टामा सीई‌ओ जुकरबर्गले दशक लामो अवधिपछि पहिलो पटक ट्वीट गरेका हुन् ।

उनले बिहीबार ट्वीटरका मालिक एलन मस्कलाई लक्षित गर्दै स्पाइडर म्यान आपसमा भिडिरहेको मिम शेयर गरेका छन् । यसलाई ट्वीटर र थ्रेडबीचको प्रतिस्पर्धा सुरु भएको घोषणाको रूपमा समेत लिन थालिएको छ ।

मङ्गलबार जुकरबर्गले ट्वीटर सिद्ध्याउने गरी प्रतिस्पर्धीको रूपमा  थ्रेड उतारेका थिए । ट्वीटरको पोस्टमा भने कुनै क्याप्सन राखिएको छैन ।

 

इन्स्टाग्रामको टिमले तयार पारेको थ्रेड ट्वीटर जस्तै अक्षरमा आधारित एप हो, जसमा प्रयोगकर्तालाई ५०० क्यारेक्टरसम्म लामा पोस्ट गर्न सक्छन् । बुधबार औपचारिक रुपमा सार्वजनिक भएको थ्रेडले ट्वीटरलाई अहिलेसम्मकै सबैभन्दा ठूलो चुनौति सिर्जना गर्ने ठानिएको छ ।

इन्स्टाग्राम अकाउन्टबाटै लगईन गर्न सकिने यो एपमा तस्वीर, शर्ट, उच्च गुणस्तरका भिडिओ समेत पोस्ट गर्न सकिन्छ । "यो एपमा एक अर्बभन्दा बढी मानिसले सार्वजनिक कुराकानी गर्न सक्नेछन्," थ्रेड सार्वजनिक भएपछि एक पोस्ट गर्दै जुकरबर्गले भनेका छन्, "ट्वीटरसँग यो अवसर थियो, तर गर्न सकेको छैन । आशा छ हामी त्यो गर्नेछौं ।"

मस्कले गत अक्टोबरमा ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर खरिद गरेका थिए । त्यस लगत्तै उनले हजारौं कर्मचारीलाई कामबाट निकाले र कन्टेन्ट मोडरेसन नीति समेत लत्याइदिए । अहिले पछिल्लो विवादित नीतिगत परिवर्तन गरिएको छ, जसमा ट्वीटर प्रयोगकर्तालाई दैनिक पढ्न सक्ने ट्वीटको सीमा राखिएको छ ।

यद्यपि त्यसलाई मस्कले बट तथा डेटा स्क्र्याप गर्ने कार्यको सामना गर्न अस्थायी रुपमा लागू गरिएको भनेका छन् । 

पछिल्लो अध्यावधिक: असार २१, २०८० १०:४४