close

अकाउन्ट खोलेका ७० प्रतिशत प्रयोगकर्ता नै चलाउँदैनन् थ्रेड्स

टेकपाना टेकपाना

साउन १२, २०८० १९:४१

अकाउन्ट खोलेका ७० प्रतिशत प्रयोगकर्ता नै चलाउँदैनन् थ्रेड्स

काठमाडौं । मेटाको माइक्रो ब्लगिङ प्लेटफर्म थ्रेड्सका सक्रिय प्रयोगकर्ता घट्न थालेका छन् । सार्वजनिक भएको पाँचौं दिनमा १० करोड प्रयोगकर्ताको आँकडा पार गरेको प्लेटफर्मका ७० प्रतिशत प्रयोगकर्ता निष्क्रिय हुने गरेको पाइएको छ ।

सामाजिक सञ्जाल ट्वीटरमा अनावश्यक परिवर्तन आएपछि दिक्क भएका प्रयोगकर्ता थ्रेड्समा सरेका थिए, जसले गर्दा ट्वीटरलाई सो प्लेटफर्मले पछि पार्ने अपेक्षा गरिएको थियो । तर, एक्कासि बढेका प्रयोगकर्ताले प्लेटफर्म सार्वजनिक भएको दुई सातापछि प्रयोग गर्नै छाडेको  वाल स्ट्रिट जर्नलले उल्लेख गरेको छ ।

त्यस्तै सेन्सर टावरको मार्केट इन्टेलिजेन्स कम्पनीका अनुसार थ्रेड्स सार्वजनिक भएको दोस्रो सातामा पनि उत्साहजनक सङ्ख्यामा प्रयोगकर्ता पाएको थियो । तर तेस्रो साताबाट भने थ्रेड्समा सक्रिय प्रयोगकर्ताको सङ्ख्या घट्दो छ ।

सिमिलर वेबका अनुसार सुरुवाती चरणमा थ्रेड्सका आईओएस तथा एन्ड्रोइड एपमा प्रयोगकर्ता औसतमा दैनिक १९ मिनेट बिताउँथे । तर, पछिल्लो समय औसतमा प्रयोगकर्ताले चार मिनेट मात्र प्रयोग गर्ने गरेको तथ्याङ्कले देखाएको छ । 

यसरी थ्रेड्सका सक्रिय प्रयोगकर्ताको सङ्ख्या घट्नुको कारण प्रमुख सेलिब्रेटी, कन्टेन्ट क्रियटरहरू उक्त प्लेटफर्ममा नआउनु रहेको विश्लेषकहरूले बताएका छन् । थ्रेड्सका आएका कन्टेन्ट क्रियटर पनि सक्रिय नभएको उनीहरूको निष्कर्ष छ ।

पछिल्लो अध्यावधिक: साउन १६, २०८० १६:४३