close

ट्वीटरमा प्रतिबन्ध लागेको एलन मस्कको विमान ट्रयाक गर्ने अकाउन्ट थ्रेडमा सक्रिय

टेकपाना टेकपाना

असार २४, २०८० ९:०

ट्वीटरमा प्रतिबन्ध लागेको एलन मस्कको विमान ट्रयाक गर्ने अकाउन्ट थ्रेडमा सक्रिय

काठमाडौं । अर्बपति एलन मस्कको निजी विमान ट्रयाक गर्ने ट्वीटर अकाउन्ट थ्रेड्समा सरेको छ । वास्तविक समयमा मस्कको निजी विमान ट्रयाक गर्ने उक्त अकाउन्टमाथि ट्वीटरले गत वर्ष प्रतिबन्ध लगाएको थियो । 

‘एलन मस्क जेट’ (Elonmusksjet) नामबाट सक्रिय उक्त अकाउन्ट २१ वर्षीय ज्याक स्वीनीले तयार पारेका थिए । आफू एलन मस्कको समर्थक भएको र राम्रै नियतले जेट ट्रयाक गर्ने अकाउन्ट बनाएको उनले बताउँदै आएका छन् । 

यद्यपि मस्कले ट्वीटर खरिद गर्नुअघि केही रकम दिएर अकाउन्ट डिलिट गर्न लगाएका थिए । तर, स्वीनीले बढी रकम माग गरेपछि उक्त अकाउन्ट यथावत थियो । पछि ट्वीटर एलन मस्कको नेतृत्वमा गएपछि मस्कले उक्त अकाउन्टमाथि प्रतिबन्ध लगाएका थिए ।  

“एलन जेट थ्रेड्समा आइपुगेको छ,” बिहीबार पहिलो थ्रेड्स राख्दै एलनमस्क्सजेट अकाउन्टबाट लेखिएको थियो । उक्त अकाउन्टमा आइतबार बिहानसम्म ४० हजार बढी फलोअर पुगिसकेका छन् ।  

एलन मस्कको निजी विमान ट्रयाक गर्ने उक्त अकाउन्टको बायोमा ‘सार्वजनिक रूपमा उपलब्ध एडीएस-बी (ADS-B) डेटा ग्रान्डकन्ट्रोल नेट (grndcntrlnet) प्रयोग गरेर बटको सहायताले एलन मस्कको निजी विमान (N628TS) ट्र्याक गर्दै’ लेखिएको छ । 

पछिल्लो समय ट्वीटरको सम्पूर्ण स्वामित्त्व एलन मस्कले लिएपछि उक्त प्लेटफर्म विवादित बन्दै आएको छ । नयाँ नीति ल्याएर होस् वा आफ्नो विरुद्धमा बोल्नेहरूको अकाउन्ट प्रतिबन्ध लगाउने कुरामा होस्, एलन मस्क र ट्वीटर बारम्बार विवादमा आइरहेका हुन्छन् । 

त्यसैले पनि थुप्रै मिडिया तथा सेलिब्रेटीहरूले ट्वीटरको विकल्प खोजिरहेका थिए । यस्तो समयमा थ्रेड्स आउँदा धेरैले उक्त प्लेटफर्मको चर्चा गरिरहेका छन् ।

मेटाका सीईओ मार्क जुकरबर्गका अनुसार थ्रेड्स सार्वजनिक भएको २४ घण्टामा उक्त प्लेटफर्ममा सात करोड बढी प्रयोगकर्ता जोडिएका थिए । 

पछिल्लो अध्यावधिक: असार २४, २०८० ९:९