काठमाडौं । इन्स्टाग्रामको नयाँ एप थ्रेड्सले १० करोड प्रयोगकर्ताको आँकडा पार गरेको छ । यसअघि च्याटजीपीटीले दुई महिना लगाएर राखेको रेकर्ड थ्रेड्स एपले पाँच दिनमै ब्रेक गरेको हो । सञ्चार माध्यम भर्जले एक रिपोर्ट सार्वजनिक गर्दै थ्रेड्समा १० करोड बढी प्रयोगकर्ता पुगेको बताएको छ ।
थ्रेड्स सार्वजनिक भएको पहिलो दुई घण्टामै २० लाख बढी प्रयोगकर्ताले साइनअप गरिसकेका थिए । त्यही दिन सात घण्टामा ५० लाख, त्यसपछि एक करोड, तीन करोड, सात करोड हुँदै पाँचौं दिनमा आइपुग्दा सो प्लेटफर्ममा १० करोड बढी प्रयोगकर्ताले साइनअप गरेका छन् ।
प्रयोगकर्ताको सङ्ख्या अनपेक्षित रूपमा बढ्न थालेपछि शुक्रबार एक थ्रेड्स सार्वजनिक गर्दै मेटाका सीईओ मार्क जुकरबर्गले प्रयोगकर्ताको सङ्ख्या अपेक्षाभन्दा बढी आएको भन्दै उत्सुकता प्रकट गरेका थिए ।
इन्स्टाग्रामका प्रमुख आदम मोसेरीका अनुसार मेटाले ट्वीटर विस्थापित गर्ने उद्देश्यले थ्रेड्समा केन्द्रित भएको होइन । त्यसमा पनि कम्पनीले राजनीतिक समाचार र विषयवस्तुलाई सक्रिय रूपमा प्राथमिकता दिइएको छैन ।
कम्पनीले यो प्लेटफर्मलाई मानिसहरूले कुराकानी गरेको शैलीमा आफ्ना कुराहरू सामाजिक सञ्जालमा शेयर गरुन् भन्ने उद्देश्यले थ्रेड्स ल्याएको उनले बताए । सार्वजनिक भएको एक हप्ता बित्नै लाग्दा कम्पनीका लागि यो हप्ता कस्तो रह्यो भन्नेबारे मेटाले केही उल्लेख गरेको छैन ।
प्रयोगकर्ताले साइनअप मात्र नभइ सक्रिय रूपमा पोस्ट पनि शेयर गर्न थालेका छन् । इन्स्टाग्राम अकाउन्टबाट सोझै थ्रेड्समा लगइन गर्न सकिने भएकाले तीब्र गतिमा प्रयोगकर्ताको सङ्ख्या बढेको विश्लेषकले बताएका छन् ।