काठमाडौं । मेटाले ट्वीटर जस्तै सामाजिक सञ्जाल थ्रेड्स ल्याएपछि एलन मस्क लगातार मार्क जुकरबर्गमाथि खनिँदै आएका छन् । कहिले ‘केज फाइट’का लागि बोलाउने, कहिले मुद्दा हाल्ने चेतावनी दिने मस्कले हालै जुकरबर्गमाथि आक्रोश पोख्दै ‘कक’को उपनाम दिएका छन् ।
आइतबार ट्वीटरमा मार्क जुकरबर्गले वेन्डिज नामकाे फुड कम्पनीलाई रिप्लाइ दिएको थ्रेड्सको स्क्रिनशट शेयर भएको थियो । उक्त ट्वीटमा रिप्लाइ गर्दै मस्कले ‘जुक कक हो’ भनेको रिप्लाइ अहिले भाइरल छ ।
सार्वजनिक भएको छोटो समय (करिब पाँच दिन) मा १० करोड प्रयोगकर्ता पुगिसकेपछि मस्कले आक्रोश पोख्दै जुकरबर्गलाई त्यस्तो उपनाम दिएका हुन् । ‘कक’ एउटा यस्तो शब्द हो, जो आफ्ना विपक्षीलाई कमजोर व्यक्ति भन्दै होच्याउनका लागि प्रयोग गरिन्छ ।
पछिल्लो समय जुकरबर्गले ट्वीटरको कपी क्याट एप ल्याएको भन्दै मस्कले विभिन्न शैलीमा व्यङ्ग्य हान्दै आएका छन् । त्यसअघि सिङ्गल सिङ्गल भिड्न केज फाइटका लागि बोलाएका मस्कले थ्रेड्स सार्वजनिक भएपछि कानूनी प्रक्रियामा जाने चेतावनी दिएका थिए ।
ट्वीटरले थ्रेड्सलाई मुद्दा हाल्ने विषय उल्लेख गरिएको ट्वीटमा रिप्लाइ गर्दै गत हप्ता एलन मस्कले लेखे, “प्रतिस्पर्धा ठीक छ, चिटिङ होइन ।”
उनको यो रिप्लाई इन्टरनेटमा चर्चाको विषय पनि बन्यो । शनिबार अर्को एक ट्वीटको रिप्लाई दिँदै उनले थ्रेड्सलाई इन्स्टाग्रामको माइनस पिक्चर भएको संज्ञा दिए । अर्थात् थ्रेड्स फोटो बिनाको इन्स्टाग्राम हो भन्ने मस्कको धारणा थियो ।
त्यसैले इन्स्टाग्राममा मानिसहरूको जुन आकर्षण थियो, त्यो थ्रेड्समा नहुने उनको साङ्केतिक दाबी समेत गरे । त्यसपछि पुनः आइतबार ट्वीटरमा शेयर भएको थ्रेड्स स्क्रिनशटमा मस्कले जुकरबर्गलाई ककको उपनाम दिएका हुन् ।
स्टाटिकाका अनुसार २०२२ को अन्तसम्म ट्वीटरमा ३६ करोड ८० लाख प्रयोगकर्ता जोडिएका थिए । मस्क र जुकरबर्गबीचको सामाजिक सञ्जालको द्वन्द्वलाई दुई अर्बपतिबीचिको तीतो प्रतिस्पर्धाका रूपमा हेरिएको छ ।