close

ट्वीटरमा ८ महिना यताकै धेरै प्रयोगकर्ता थपिएको सीईओ लिन्डाको दाबी

टेकपाना टेकपाना

असार २६, २०८० ११:१३

ट्वीटरमा ८ महिना यताकै धेरै प्रयोगकर्ता थपिएको सीईओ लिन्डाको दाबी

 

काठमाडौं । मेटाले हालै सार्वजनिक गरेको थ्रेड्स एपको चर्चा चुलिरहेको बेला ट्वीटरकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) लिन्डा याकारिनोले गत हप्ता आफ्नो प्लेटफर्मले सबैभन्दा धेरै प्रयोगकर्ता पाएको दाबी गरेकी छन् ।

 सीईओ याकारिनोले सोमबार एक ट्वीट गर्दै नोभेम्बर महिनायता ट्वीटरले सबैभन्दा धेरै प्रयोगकर्ता पाएको बताएकी हुन् । ट्वीटमा उनले थ्रेड्सको प्रशंसा समेत गरेकी छन् । ट्वीटरले सबैभन्दा बढी प्रयोगकर्ता पाएको दिन कुन हो र त्यसको मापनको आधार के भन्नेबारे याकारिनोले स्पष्ट खुलाएकी छैनन् ।

उनको सोही ट्वीटमा कम्पनीका मालिक एलन मस्कले भने ‘आईओएस र एन्ड्रोइड रिपोर्ट अनुसार ट्वीटरमा स्क्रिनटाइम बढाएको’ रिप्लाइ दिएका छन् । त्यस्तै यो हप्ता ट्वीटरले नयाँ रेकर्ड हिट गर्ने मस्कको विश्वास छ । ट्वीटरमा आएका विभिन्न उतारचढावलाई मौका छोपी मेटाले गत बुधबार थ्रेड्स एप सार्वजनिक गरेको थियो । जसलाई ट्वीटरले आफ्नो ‘कपिक्याट’ एपको आरोप लगाउँदै आएको छ ।

सार्वजनिक भएको सात घण्टामा नै एक करोड र पाँच दिनमा १० करोड प्रयोगकर्ता पाएर इन्टरनेटमा थ्रेड्सले नयाँ रेकर्ड बनाएको छ । यो सङ्ख्या ट्वीटरको नियमित प्रयोगकर्ताको तुलनामा एक तिहाइ मात्र हो । सीईओ याकारिनोको उक्त दाबी त्यही सेरोफेरोमा आएको हुन सक्ने अनुमान गरिएको छ । मस्कले अक्टोबर २०२२ मा ४४ अर्ब डलरमा खरिद गरेपछि ट्वीटरमा विभिन्न परिवर्तन गरिसकेका छन् ।

उनको उक्त कार्यले प्रयोगकर्ताहरूलाई असर पर्नुका साथै कम्पनीले आधाभन्दा बढी कर्मचारीलाई कामबाट निष्कासन गरिसकेको छ । यता मेटाका सीईओ मार्क जुकरबर्गले भने थ्रेड्समा एक पोस्ट लेख्दै ट्वीटरमा भएको अपमानजनक सामग्रीले त्यसको प्रतिष्ठा घटाइरहेको आरोप लगाएका थिए ।

अब त्यो गल्ती आफूले नगर्ने र थ्रेड्सलाई सबैका लागि मैत्रीपूर्ण बनाउने जुकरबर्गको भनाइ छ । यता क्लाउडफ्लेयर नामक आईटी कम्पनीले मस्कले ट्वीटर खरिद गरेपछि सो प्लेटफर्ममा इन्टरनेट ट्राफिक कम भएको दाबी गरेको छ ।

यस्तो अवस्थामा नयाँ सीईओ याकारिनोको प्रभाव भएको समेत बताइएको छ । ‘एनबीसीयू’ नामक कम्पनीमा ग्लोबल एड्भर्टाइजिङ एन्ड पार्टनरशिप विभागको प्रमुखको रूपमा काम गरिरहेकी उनले जुन महिनाबाट ट्वीटवरको सीई‌ओ पद सम्हालेकी हुन् ।

पछिल्लो अध्यावधिक: असार २६, २०८० ११:१३