काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नाममा अनलाइन ठगी कार्य भइरहेको पाइएको छ । कोभिड १९ विरुद्धको खोप लगाएको प्रमाणीकरण गर्ने भन्दै अनधिकृत वेबसाइटमार्फत यस्तो कार्य हुन थालेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबारको दैनिक बुलेटिनमार्फत अनधिकृत वेबसाइटहरू देखि सावधान रहन सचेत गराएको छ ।
"नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आधिकारिक वेबसाइट एमओएचपी डट जीओभी डट एनपीसँग मिल्दाजुल्दा अनधिकृत वेबसाइट बनाई ठगी गरेको गुनासो प्राप्त भएकोले सबैमा सावधान रहन अनुरोध छ," मन्त्रालयले भनेको छ, "यस्ता अनधिकृत वेबसाइटहरूको दुरुपयोग गरी कोभिड १९ विरुद्ध लगाइने खोपको प्रमाणीकरण गर्ने कार्यलाई कानून बमोजिम दण्डित गरिनेछ ।"
नेपालमा यात्रा गर्न कोभिड १९ पीसीआर परीक्षण र कोभिड १९ विरुद्धको खोप लगाएको प्रमाण सम्बन्धी अनिवार्य व्यवस्था नेपाल सरकारले हटाइसकेको छ ।