close

‘लाइभ हब’ एपमार्फत विदेशी महिलाहरूको नाममा अकाउन्ट खोली नेपालमा ठगी धन्दा चलाउने २ चिनियाँ पक्राउ

टेकपाना टेकपाना

जेठ १९, २०८३ २१:१३

सांकेतिक तस्बिर सांकेतिक तस्बिर

काठमाडौँ । भिजिट भिसामा नेपाल आएर शंकास्पद तथा अवैध गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले दुई चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको विशेष टोलीले उनीहरूलाई नक्सालबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा चीनको फुजियान घर भई हाल नक्साल बस्ने ३३ वर्षीय वाङ वेन्ड र ३२ वर्षीय चेन सुआङ्गुई रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूले नक्सालस्थित 'आरआर बिल्डिङ'मा 'एन्ट्रो टेक्नोलोजी' नामक कार्यालय खोली अवैध धन्दा चलाउँदै आएका थिए । उनीहरूले 'लाइभ हब एप' (Live Hub App) मार्फत विदेशी मोडेल तथा युवतीहरूको नाममा अकाउन्ट खोल्ने र विदेशी एवं भारतीय नागरिकहरूलाई साथी बनाएर कुराकानी गरी पैसा माग्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

भिजिट भिसामा नेपाल आएर भिसाको उद्देश्य विपरीत शंकास्पद गतिविधि गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले सोमबार दिउँसो २ बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका दुवै चिनियाँ नागरिकलाई अध्यागमन ऐन अन्तर्गतको कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि अध्यागमन विभाग, कालिकास्थान पठाइएको कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयकै टोलीले गत शुक्रबार ठमेल नजिकै पक्नाजोलस्थित होटल एसीई (Hotel ACE) बाट सोही प्रकृतिको गतिविधिमा संलग्न भएको आरोपमा १५ जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको थियो । उनीहरूले पनि विदेशी मोडल र युवतीहरूको नाममा नक्कली फेसबुक अकाउन्ट बनाएर बंगलादेशी तथा भारतीय नागरिकहरूलाई साथी बनाउने र कुराकानीका माध्यमबाट ब्ल्याकमेलिङ गरी पैसा माग्ने गरेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।

 

पछिल्लो अध्यावधिक: जेठ १९, २०८३ २२:५३