close

सोमबारदेखि शेयर बजारका ग्राहकका लागि डिजिटल केवाईसी लागू हुँदै

टेकपाना टेकपाना

असार ३१, २०८० १६:५९

सोमबारदेखि शेयर बजारका ग्राहकका लागि डिजिटल केवाईसी लागू हुँदै

काठमाडौं । सीडीएस एन्ड क्लियरिङ (सीडीएससी) ले भोली साउन १ गतेदेखि शेयर बजार (पुँजी बजार) मा डिजिटल केवाईसी लागू गर्ने भएको  छ । लगानीकर्ताको सहजतालाई मध्यनजर गर्दै सीडीएससीले डिजिटल केवाईसी लागू गर्न थालेको सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले बताए । यो प्रणाली लागू भएसँगै अब लगानीकर्ताहरूले फरकफरक प्रयोजनका लागि छुट्टाछुट्टै केवाईसी भरिरहनु पर्ने झन्झट हट्ने उनको भनाइ छ । 

"अहिले लगानीकर्ताहरूले आफ्नो डिम्याट खाता खोल्दा वा ब्रोकर खाता खोल्दा केवाईसी बुझाउनु पर्ने तथा पटक पटक अपडेट गरिरहनु पर्ने नियम छ," उनले भने, "तर अब भने लगानीकर्ताले एक ठाउँमा केवाईसी भरेपछि अर्को ठाउँमा भरिरहनु पर्दैन ।"   

उनका अनुसार लगानीकर्ताले आफ्नो ब्रोकर अथवा मर्चेन्ट बैंकमा गएर आफ्नो केवाईसी भराउँदा वा अपडेट गर्दा एउटा केवाईसी आईडी प्राप्त गर्नेछन् । भविष्यमा शेयर बजारका सबै प्रकारका सेवा लिदाँ बुझाउनुपर्ने केवाईसीको ठाउँमा सोही आईडी दिएकै भरमा काम बन्ने न्यौपानेले बताए ।     

"केन्द्रीकृत डिजिटल केवाईसीको मुख्य उद्देश्य भनेको नै प्रयोगकर्ताले शेयर बजारको कुनै पनि सेवा लिँदा पटक पटक लामो केवाईसी भर्नु नपरोस् भन्ने हो," उनले भने, "एक पटक केवाईसी आईडी लिएपछि प्रयोगकर्ताले आफ्नो डिम्याट खाता खोल्दा अथवा ब्रोकर खाता खोल्दा सो आईडी दिए पुग्छ ।"

हाललाई यो प्रणाली नयाँ लगानीकर्ताको हकमा मात्र लागू हुनेछ । उनका अनुसार पुराना लगानीकर्ताले भने ब्रोकरलाई सम्पर्क गरेर आफ्नो केवाईसी अपडेट गराइ केवाईसी आईडी लिन सक्नेछन् ।    

यो प्रणाली लगानीकर्ता आफैंले सोझै प्रयोग गर्न पनि पाउने छैनन् । "अहिले शेयर बजारमा लगानीकर्ताको काम ब्रोकर वा मर्चेन्ट बैंकले नै गर्ने हुँदा उनीहरूसम्म जसरी पनि ठोक्किनै पर्छ । त्यसैले गर्दा लगानीकर्ताले सोझै आफैं चाहिं केवाईसी भर्न सक्दैनन्," उनले भने । 

यद्यपि प्रयोगकर्ता स्वयम्‌ले आफ्नो केवाईसी तयार पार्न तथा अपडेट गर्न सक्ने गरी थप प्रणाली विकास गर्दै लैजाने योजना रहेको समेत न्यौपानेले जानकारी दिए ।   


 

पछिल्लो अध्यावधिक: असार ३१, २०८० १६:५९