close

सुन काण्डमा गृहमन्त्री विरुद्ध फेसबुकमा लेख्ने प्रेस चौतारी अध्यक्ष विरुद्ध साइबर ब्युरोमा उजुरी

टेकपाना टेकपाना

साउन ४, २०८० १७:४७

सुन काण्डमा गृहमन्त्री विरुद्ध फेसबुकमा लेख्ने प्रेस चौतारी अध्यक्ष विरुद्ध साइबर ब्युरोमा उजुरी

काठमाडौं । त्रिभुवन विमानस्थल हुँदै बिहीबार तस्करी भएको १५५ केजी सुन काण्डमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नाम मुछेको भन्दै प्रेस चौतारी अध्यक्ष गणेश बस्नेत विरुद्ध साइबर ब्यूरोमा उजुरी परेको छ । मन्त्री श्रेष्ठको सचिवालयले बिहीबार ब्यूरोमा उजुरी दिएको हो ।

बस्नेतले बुधबार साँझ फेसबुकमा एक पोस्ट गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले 'सुन पास गराएको' भन्दै फेसबुकमार्फत भ्रामक प्रचार गरेको आरोप लगाइएको छ । प्रेस चौतारी नेपालका अध्यक्ष बस्नेत र उनले सञ्चालन गर्दै आएको जन बोली डटकमविरुद्ध समेत उजुरी परेको छ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले बस्नेतविरुद्ध प्रहरीको साइबर ब्युरो र जन बोली डटकमविरुद्ध प्रेस काउन्सिलमा बिहीबार नै उजुरी दिइएको जनाए ।

अध्यक्ष बस्नेतले 'आफूलाई सूचना आएको' कपोलकल्पित हवाला दिंदै २०८० साल साउन ४ गतेको फेसबुक स्टाटसमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ माथि 'सुन पास गराएको' आरोप लगाएको बताइएको छ ।

यस प्रकरणले गृहमन्त्री श्रेष्ठको व्यक्तिगत निष्ठा, आचरण र नैतिकतामाथि सामाजिक सञ्जालमा अतिरञ्जित भ्रम सिर्जना गरेको, सुशासन तथा गुणात्मक प्रशासनिक सुधारमा अनवरत लागेको गृह प्रशासन नेतृत्वलाई हिलो छयाप्ने काम गरेको र गृहमन्त्रीले अगाडि बढाएका कामलाई अवरुद्ध गर्ने नियत बोकेको उजुरीमा उल्लेख छ ।

साथै बस्नेतले गृहमन्त्रीलाई इंगित गर्दै "एक रुपैयाँ पनि आम्दानी नभएका सादगी" व्यक्तिले  दैनिक ५० हजार खर्च गर्ने गरेको दाबी समेत स्टाटसमा उल्लेख गरेका छन् । सल्लाहकार गिरीले आपराधिक मनोवृत्ति राखेर गृहमन्त्री विरुद्ध झुटो र कपोलकल्पित आरोप लगाउने बस्नेतलाई साइबर कानून अन्तर्गत आवश्यक कारवाही गर्न साइबर ब्युरोलाई अनुरोध गरेका गरेका छन् ।

त्यस्तै इन्द्रप्रसाद आचार्य सम्पादक तथा प्रकाशक, सूर्यप्रसाद फुयाल प्रधान सम्पादक र रमण कोइराला प्रबन्ध सम्पादक रहेको जन बोली डटकम नामक जन बोली न्यूज नेटवर्क प्रालिको अनलाइन मिडियाले समेत २०८० साल साउन ४ गते "तौलन नसकिने हालसम्मकै ठुलो परिणाममा सुन बरामद, गृहमन्त्री श्रेष्ठको संलग्नता" शीर्षकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ विरुद्ध  समाचार सार्वजनिक गरेको थियो ।

समाचारले आपराधिक मनोवृत्ति राखेर भ्रम फैलाएको भन्दै उक्त अनलाइन विरुद्ध समेत उजुरी दिइएको छ । जन बोली अनलाइन मिडियाले गणेश बस्नेतको स्टाटसलाई नै हवाला दिँदै 'गृहमन्त्री श्रेष्ठले सुन पास गरेको' ठोकुवा गरेको थियो ।

उक्त मिडियाका जिम्मेवारहरूलाई यस्तो झुटो र भ्रमपूर्ण समाचार छापेको कसुरमा तत्काल कानूनको दायरामा ल्याई आवश्यक कारवाही गर्न अध्यक्ष बालकृष्ण बस्नेतलाई सम्बोधन गर्दै प्रेस काउन्सिलमा उजुरी दिइएको सल्लाहकार बताए ।

काउन्सिलले बिहीबार नै पत्र काटी उक्त मिडियालाई काउन्सिलमा उपस्थित भएर समाचार प्रमाणित गर्न अथवा माफी सहित समाचार हटाउन २४ घण्टाको अल्टिमेटम दिएको छ ।

पछिल्लो अध्यावधिक: साउन ५, २०८० ११:२३