काठमाडौं । हाम्रा केही काम अनलाइनबाटै हुने भए पनि पूर्ण रूपमा सबै ठाउँमा अनलाइन प्रणाली लागू भइसकेको छैन । कतिपय कार्यालयमा हामीले आफ्ना कागजात पीडीएफ फर्म्याटमा पठायौं भने पनि काम चल्छ ।
तर, अधिकांश अवस्थामा कागजात प्रिन्ट गरेरै बुझाउनु पर्ने अवस्था आउँछ । त्यस्तै कागजात प्रिन्ट गर्न जाँदा हामीलाई फाइल शेयर गर्नुपर्ने झन्झट भइरहन्छ ।
ईमेल, ह्वाट्सएप, मेसेञ्जर आदिमार्फत पठाउँदा प्रिन्ट गरिदिने मान्छेले ती कागजात दुरुपयोग गरिदिने डर पनि हुन्छ । त्यस बाहेक यदि हामीसँग प्रिन्टर छ र हाम्रो कम्प्युटर वा ल्यापटपबाट प्रिन्ट गर्न झन्झट लागेको छ वा कम्प्युटरमा फाइल पठाउन नसकिने अवस्था छ भने एन्ड्रोइड फोन वा ट्याबलेटकै सहारामा ‘प्रिन्ट आउट’ निकाल्न सकिन्छ ।
आज हामी मोबाइल वा ट्याब्लेटबाट सोझै कागजात प्रिन्ट गर्न के कस्ता विकल्प छन् भन्ने विषयमा चर्चा गर्दै छौं ।
१) एन्ड्रोइडमार्फत यूएसबी केबलको सहायताले प्रिन्ट गर्ने तरिका
यो तरिका अन्तर्गत सबैभन्दा पहिला तपाईंले यूएसबी केबलमार्फत फोनलाई प्रिन्टरसँग कनेक्ट गर्नुपर्ने हुन्छ । प्रायः प्रिन्टरमा यूएसबी टाइप बी पोर्टको सपोर्ट रहेको हुन्छ । त्यसका लागि आफ्नो फोनमा सपोर्ट गर्ने (टाइप सी ?) र अर्कोपट्टि टाइप बी भएको यूएसबी केबल लिन सक्नु हुन्छ ।
यति भयो भने केही प्रिन्टरले फोन डिटेक्ट गर्छन् भने केही प्रिन्टरका लागि एप डाउनलोड गर्नुपर्ने हुन्छ । यदि तपाईंसँग एचपीको प्रिन्टर छ भने तपाईंले यहाँ क्लिक गरी फोनमा एप डाउनलोड गर्न सक्नुहुन्छ ।
२) एन्ड्रोइड डिभाइसबाट केबल बिनै प्रिन्ट गर्ने तरिका
अहिलेका आधुनिक प्रिन्टरमा वायरलेस प्रिन्टिङको सुविधा दिइएको हुन्छ । विशेषगरी वाई-फाई र ब्लुटुथ प्रयोग गरी एन्ड्रोइड डिभाइसलाई प्रिन्टरसँग कनेक्ट गर्न सकिन्छ ।
वाई-फाईको हकमा भने तपाईंले आफ्नो प्रिन्टर र एन्ड्रोइड डिभाइसलाई एउटै वाई-फाई नेटवर्कमा कनेक्ट गर्नुपर्ने हुन्छ । ब्लुटुथबाट कनेक्ट गर्नुपरेको खण्डमा भने सबैभन्दा पहिला प्रिन्टरमा ब्लुटुथ अन गर्नुपर्ने हुन्छ ।
त्यसपछि तपाईंले आफ्नो एन्ड्रोइड डिभाइसमा ब्लुटुथ अन गरी प्रिन्टरमा कनेक्ट गर्न सक्नुहुन्छ । यति भइसकेपछि भने तपाईंले विभिन्न एप वा फोनबाट सोझै डकुमेन्ट प्रिन्ट गर्न सक्नुहुन्छ ।
३) गुगल डक्समार्फत प्रिन्ट गर्ने तरिका
निःशुल्क उपलब्ध हुने गुगल डक्समा रहेको सामग्री सहजै डाउनलोड गर्न सकिन्छ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस् ।
सबैभन्दा पहिला आफ्नो एन्ड्रोइड डिभाइसमा गुगल डक्स एप खोल्नुहोस् वा यहाँ क्लिक गरी एप डाउनलोड गर्नुहोस् ।
त्यसपछि आफूले खोजेको डकुमेन्टमा जानुहोस् ।
अब छेउमा रहेको तीन ओटा डट भएको बटनमा ट्याप गर्नुहोस् ।
त्यसपछि प्रिन्टको अप्सनमा जानुहोस् ।
यति गरेपछि प्रिन्टरको आइकनमा थिच्नुहोस् ।
४) पीडीएफ वा डकुमेन्ट रिडरबाट
डक्स मात्र नभइ तपाईंले आफ्नो डिभाइसको पीडीएफ वा डकुमेन्ट रिडरबाट पनि प्रिन्ट गर्न सक्नुहुन्छ । त्यसका लागि तल दिइएको प्रक्रिया अपनाउनुहोस् ।
सबैभन्दा पहिला फाइल मेनेजरमा गएर पीडीएफ फाइल खोल्नुहोस् ।
त्यसपछि माथि दायाँपट्टि रहेको तीन ओटा डटमा ट्याप गर्नुहोस् ।
शेयरको अप्सनमा जानुहोस् ।
यति गरेपछि शेयर गर्ने विभिन्न विकल्प देखाइएका हुन्छन् । त्यसमध्ये प्रिन्टको अप्सन छान्नुहोस् ।
त्यसपछि आफूसँग भएको प्रिन्टरमा डिभाइस कनेक्ट गरेर डकुमेन्ट प्रिन्ट गर्नुहोस् । याद गर्नुहोस्, यो शैली पीडीएफ, शीट, वर्ड र स्लाइड्सका लागि उपयुक्त हुन्छ ।
तपाईंले आफ्ना कागजात यी फर्म्याटमा राख्नु भएको छ भने प्रिन्ट गर्न सक्नुहुन्छ ।
३) गुगल क्रोमबाट प्रिन्ट गर्ने तरिका
एन्ड्रोइड डिभाइसमा रहेको गुगल क्रोममार्फत डकुमेन्ट प्रिन्ट गर्न तलको प्रक्रिया अपनाउनुहोस् ।
सुरुमा आफूले प्रिन्ट गर्न चाहेको वेबपेज क्रोममा खोल्नुहोस् । (पीडीएफ, वर्ड लगायत अन्य डकुमेन्ट क्रोममा खोल्न सकिन्छ ।)
त्यसपछि माथि दायाँपट्टि रहेको तीन ओटा डटमा थिच्नुहोस् ।
अनि शेयरको अप्सनमा जानुहोस् ।
यति गरेपछि तलपट्टि रहेको प्रिन्टको अप्सनमा जानुहोस् र, प्रिन्टरको अप्सनमा ट्याप गरी प्रिन्ट गर्नुहोस् ।
५) जिमेलबाट यसरी प्रिन्ट गर्नुहोस्
तपाईंले आफ्नो एन्ड्रोइड डिभाइसबाट जिमेलमा आएका ईमेलहरू पनि सोझै प्रिन्ट गर्न सक्नु हुन्छ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस् ।
सबैभन्दा पहिला जिमेलमा आफूले प्रिन्ट गर्न चाहेको ईमेल छान्नुहोस् ।
त्यसपछि माथि दायाँपट्टि रहेको तीन ओटा डटमा ट्याप गर्नुहोस् ।
यति गरेपछि प्रिन्टको अप्सनमा जानुहोस् र आफ्नो प्रिन्टर छानी डकुमेन्ट प्रिन्ट गर्नुहोस् ।
६) गुगल फोटोजबाट प्रिन्ट गर्ने उपाय
तपाईं गुगल फोटोजको सहायताले पनि डकुमेन्ट तथा फोटो प्रिन्ट गर्न सक्नुहुन्छ । त्यसका लागि निम्न प्रक्रिया अपनाउनुहोस् ।
सबैभन्दा पहिला आफ्नो एन्ड्रोइड डिभाइसमा फोटोज एप खोल्नुहोस् ।
त्यसपछि आफूले प्रिन्ट गर्न चाहेको फोटो छान्नुहोस् ।
यति गरेपछि शेयरको अप्सनमा गई प्रिन्टको अप्सन छानेर फोटो प्रिन्ट गर्न सकिन्छ ।
तर, अर्को तरिकाले प्रिन्ट गर्छु भन्नुभयो भने फोटो छानिसकेपछि फोटोलाई माथि सार्नुहोस् ।
अनि ‘एड टु एल्बम’, ‘मुभ टु आर्काइभ’ जस्ता अप्सनलाई बायाँपट्टि सार्नुभयो भने प्रिन्टको अप्सन देखिन्छ ।
उक्त प्रिन्टको अप्सनमा ट्याप गरेर पनि फोटो प्रिन्ट गर्न सकिन्छ ।