close

ट्रकमा क्यामेरा राखेर महिलाको स्कर्ट मुनीको भिडिओ खिचेको आरोपमा ड्राइभर पक्राउ

टेकपाना टेकपाना

साउन ११, २०८० १६:२४

ट्रकमा क्यामेरा राखेर महिलाको स्कर्ट मुनीको भिडिओ खिचेको आरोपमा ड्राइभर पक्राउ

काठमाडौं । सामान डेलिभरी गर्ने ट्रकको पाङ्ग्रामा गोप्य क्यामेरा राखी महिलाहरूको स्कर्ट मुनीको भिडिओ खिचेको आरोपमा जापानमा एक ड्राइभर पक्राउ परेका छन् । स्थानीय मिडिया ‘द असाही सिम्बुन’ का अनुसार गत जुलाईमा क्योटो (kyoto) सहरका ४४ वर्षीय सतोशी निशिमुराले उच्च शिक्षा अध्ययन गर्ने आठ जना युवतीको स्कर्ट मुनीको भिडिओ खिचेको आरोपमा लागेको छ ।

प्रहरीलाई एक युवतीले कसैले आफूलाई आफ्नो गोप्य भिडिओ खिचेको सूचना दिएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । अनुसन्धानपछि प्रहरीले निशिमुरालाई जुलाई १९ मा पक्राउ गरेको हो । प्रहरीले ती ड्राइभरको ट्रक समेत बरामद गरेको थियो ।

ट्रकमा छानबिन गर्दा अगाडितर्फको पाङ्ग्रामा चार ओटा ससाना क्यामेरा लगाएको पाइएको उल्लेख छ । उनले युवतीहरू कलेजबाट फर्किन लागेको मौका छोपी साँघुरो बाटोमा ट्रक लैजाने गर्थे र, विस्तारै हाँक्थे ।

यसरी युवतीहरूको स्कर्टभित्रको भिडिओ खिच्ने गरिएको प्रहरीको अनुसन्धानले देखाएको छ । तर, पक्राउ परेका ती ड्राइभरले आफूलाई पार्किङ तथा ब्याक गर्न सजिलो हुने भन्दै ट्रकमा क्यामेरा जडान गरेको बयान दिएका छन् ।

गत अप्रिलमा एक युवतीले आफूले शङ्कास्पद व्यक्तिबाट आफ्नो गोप्य भिडिओ पाएको सूचना प्रहरीलाई दिएकी थिइन् । त्यसपछि प्रहरीले आन्तरिक रूपमा अनुसन्धान अगाडि बढाएको थियो ।

अनुसन्धान गर्दै जाँदा प्रहरीलाई प्राप्त भिडिओ गोप्य रूपमा खिचिने भिडिओभन्दा फरक थियो । त्यतिबेला भिडिओ कसरी खिचिएको होला भन्ने छुट्याउनै प्रहरीलाई हम्मेहम्मे पर्‍यो ।

पछि आशङ्काको घेरामा रहेका निशिमुराको घरमा छापा मार्दा प्रहरीले उनको घरबाट त्यस्ता गोप्य भिडिओ भएका ३० ओटा हार्ड डिस्क फेला पारेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उनले यस्तो काम गर्न थालेको दशकभन्दा बढी भइसकेको छ ।

जसबाट उनले एक हजार बढी युवतीका त्यस्ता भिडिओ खिचेको प्रहरी निष्कर्ष छ । उनीमाथि उपद्रव रोकथाम सम्बन्धी प्रिफेक्चरल अध्यादेश उल्लङ्घन गरेको आरोप लगाइएको छ ।

पछिल्लो अध्यावधिक: साउन ११, २०८० १६:२७