भन्सार ‘छली’ भित्र्याइएका ४२ लाख मूल्य बराबरका मोबाइल डिस्प्लेसहित १ भारतीय पक्राउ
साउन ११, २०८० १६:४३
काठमाडौं । भन्सार छली गरी नेपाल भित्र्याइएका ४१ लाख ८१ हजार रुपैयाँ बराबरका मोबाइल डिस्प्ले सहित एक जना पक्राउ परेका छन् । बुधवार सशस्त्र बलको टोलीले बाँके जिल्लाको कोहलपुर नगरपालिका ११ स्थित कृषिबजार चोक नजिकैबाट उक्त परिमाणका मोबाइल डिस्प्लेसहित एक जनालाई नियन्त्रणमा लिएको हो ।
भारत घर बताउने ३६ वर्षीय नावेद अलीलाई ३० नम्बर बागेश्वरी गण बाँके र राजश्व चुहावट नियन्त्रण सुरक्षा बेस कोहलपुरले नियन्त्रणमा लिएको उल्लेख छ । से ७ प ८९९९ नम्बरको मोटरसाइकलमा सवार अलीले विभिन्न ब्रान्डका मोबाइलका डिस्प्लेको बिल बिजक फेला नपरेपछि नियन्त्रणमा लिइएको हो ।
अलीलाई बरामद डिस्प्ले तथा मोटरसाइकल सहित आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाइएको छ ।
पछिल्लो अध्यावधिक: साउन ११, २०८० १६:४३
