close

एनआईसी एसियाले ल्यायो क्यूआर भुक्तानीको नोटिफिकेसन दिने अडियो सिस्टम

टेकपाना टेकपाना

साउन १२, २०८० १२:१६

एनआईसी एसियाले ल्यायो क्यूआर भुक्तानीको नोटिफिकेसन दिने अडियो सिस्टम

काठमाडौं । एनआईसी एसिया बैंकले क्यूआर कोडमार्फत भएका भुक्तानीको जानकारी आवाजबाटै प्राप्त हुने फिचरसहितको स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गरेको छ । बैंकको क्यूआर कोड भुक्तानीमा मर्चेन्ट तथा ग्राहकको विश्वसनीयता बढाउन यस्तो उपकरण ल्याएको हो । 

यससँगै बैंकको क्यूआर सिस्टममा आबद्ध भएका मर्चेन्टले आफ्ना सेवाग्राहीबाट उक्त प्रणालीमा भुक्तानी लिँदा एसएमएस वा ईमेल अलर्टका साथै अब यो डिभाइसमार्फत आवाजबाटै भुक्तानी प्राप्त भएको पुष्टि गर्न सक्नेछन् । बैंकले डिजिटल बैंकिङलाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यका साथ यो डिभाइस ल्याएको जनाएको छ ।

बैंकको यो नवीन प्रविधिमा आधारित स्मार्ट अडियो अलर्ट डिभाइसमा रहेको क्यूआर कोडमार्फत कारोबार गरेपछि मर्चेन्ट तथा ग्राहकले भुक्तानी सफलता पूर्वक सम्पन्न भएको सूचना तत्काल प्राप्त गर्न सक्छन् । बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा यो उपकरण ल्याएको हो ।

जसमा नेपाल पे क्यूआरबाट भुक्तानी गर्दा मौखिक जानकारी प्राप्त हुनेछ भने निकट भविष्यमा अन्य भुक्तानी नेटवर्कबाट भुक्तानी गर्दा समेत त्यस्तै सूचना दिने व्यवस्थाको तयारी छ ।

क्यूआर कोडमा आधारित भुक्तानीको तत्काल प्रमाणीकरण गरेर हजारौं मर्चेन्ट तथा लाखौं ग्राहकबीच डिजिटल भुक्तानीमा विश्वसनीयता कायम गर्न यसले मद्दत गर्ने बैंकले जनाएको छ । साथै समग्र डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न यो डिभाइस क्रान्तिकारी साबित हुने समेत विश्वास लिइएको छ ।

पछिल्लो अध्यावधिक: साउन १२, २०८० १३:२८