काठमाडौं । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ७ मा पहिरो जानु अघि अलार्म अर्थात चेतावनी दिने प्रणाली जडान गरिएको छ । भीमेश्वर नगरपालिकाका दुई प्रमुख जलाार क्षेत्र सुष्पाक्षमावती र चर्नावती क्षेत्रमध्ये चर्नावती जलाधार क्षेत्रभित्र सिङ्गरामगाउँको माथिल्लो भागमा माटोको चिस्यान नाप्ने उपकरण सहितको वर्षातको पानी नाप्ने उपकरण जडान गरिएको समाचार गोराखपत्रले प्रकाशित छ ।
वडा अध्यक्ष विनोद तामाङका अनुसार त्यहाँको चर्नावती खोला र आसपासको क्षेत्र सबैभन्दा बढी वर्षा हुने क्षेत्रमा पर्छ । वर्षा हुने र माटो पनि खुकुलो भएपछि लामोसाँघु-जिरी सडक निर्माणको क्रममा समेत आयोजनालाई पहिरो रोक्न ठूलै लागत र मेहनत गर्नुपरेको थियो । स्विस सरकारको सहयोगमा सन् १९७५ देखि १९८५ सम्म चलेको सडक निर्माण आयोजनाले लामोसाँघुदेखि जिरीसम्म ११० किमि सडक निर्माण गर्न लाग्ने लागत बराबरको खर्च गरेर चर्नावती क्षेत्रको पहिरो रोक्न सफल भएको उल्लेख छ ।
हाल उक्त स्थानमा दुई लेनको सडक बनाउँदा पनि घट्टेखोलादेखि चर्नावती खोलासम्म छेउभित्ता कटिङ नगरी पहिलाकै अवस्थामा राखिएको छ । सोही क्षेत्रको नजिकै पर्ने सिङ्गरामगाउँका स्थानीयले वर्षापछि पहिरोको समस्या धेरै पहिले देखि भोग्दै आएका छन् । यो उपकरण जडानले वर्षा र त्यसपछि आउने पहिरो बारे पूर्व सूचना दिन सक्ने भएकाले धनजनको क्षति कम हुने र रोकथामका लागि थप योजना बनाउन सहज हुने अपेक्षा गरिएको छ ।