काठमाडौं । दक्षिण एसिया क्षेत्रको पब्जीको प्रतियोगिता ‘पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया फल २०२३’ को लिग चरण अन्तर्गतको पहिलो साताको अन्तिम दिनको खेल बाँकी रहँदा दुई नेपाली टिम शीर्ष १० भित्र पर्न सफल भएका छन् । अङ्क तालिकाको दोस्रो स्थानमा ‘स्काइलाइट गेमिङ’ र सातौ स्थानमा ‘डेडआइज गाइज’ रहेका छन् ।
पहिलो स्थानमा मङ्गोलियन पब्जी टिम ‘फोमिराकल फाइभ्स’ रहेको छ । जसको कुल १५३ पोइन्ट रहेको छ ।
दोस्रो स्थानमा रहेको ‘स्काइलाइट गेमिङ’को १२२ रहेको छ । जसका एक चिकेन डिनरसहित ७९ एलिमिनेसन पोइन्ट समावेश छ । कूल २० टिम सहभागी प्रतियोगितामा नेपालबाट नौ, मङ्गोलियाबाट नौ र बङ्गलादेशबाट दुई टोलीको सहभागिता रहेको छ ।
पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप खेलिसकेका नेपाली टिम ‘डीआरएस गेमिङ’ र ‘टीटूके’ क्रमशः १५ औँ र १६ औँ स्थानमा रहेका छन् ।
यो प्रतियोगिता तीन सातासम्म चल्नेछ । दोस्रो साताको खेल अगस्ट १ र तेस्रो साताको खेल अगस्ट ८ देखि सुरु हुनेछ ।
प्रतियोगिताको फाइनल अगस्ट १८ देखि २० सम्म चल्नेछ । जसमा लिग चरणमा सबै खेल सकिँदा अङ्कतालिकाको शीर्ष १६ भित्र रहने टिमले प्रतिस्पर्धा गर्नेछन् ।
यो प्रतियोगिताको पुरस्कार राशि ८० हजार अमेरिकी डलर (करिब एक करोड पाँच लाख रुपैयाँ) राखिएको छ । पहिलो साताको अन्तिम दिनको खेल आज आइतबार बेलुका ४:४५ देखि सुरु हुँदैछ ।
जसको लाइभ ‘पब्जी मोबाइल ई-स्पोर्ट्स साउथ एसिया’को फेसबुक पेज तथा युट्युब च्यानलबाट हेर्न सकिने छ ।