close

के च्याटजीपीटीको ‘एआई डटकम’ एलन मस्कले किनेका हुन् ?

टेकपाना टेकपाना

साउन १९, २०८० १५:३८

के च्याटजीपीटीको ‘एआई डटकम’ एलन मस्कले किनेका हुन् ?

काठमाडौं । केही समयअघि च्याटजीपीटीमा रिडाइरेक्ट हुने एआई डटकम (ai.com) अहिले एक्स डट एआई (x.ai) मा रिडाइरेक्ट हुन थालेको छ । जुलाई १२ मा एलन मस्कले घोषणा गरेको आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एक्स एआईमा याे डाेमेन रिडाइरेक्ट हुन थालेको हो ।

यसको सुरुवात ब्रह्माण्डको प्रकृति बुझ्न गरिएको कम्पनीको भनाइ छ । त्यसबाहेक कम्पनीले अतिरिक्त विवरण दिएको छैन । 

उच्च मूल्य भएको एआई डटकम डोमेन ओपनएआईले २०२१ मा खरिद गरेको माशेबलले उल्लेख गरेको छ । डोमेन ब्रोकर ससेल्सले फेब्रुअरीमा एक्समा पोस्ट राख्दै एआई डटकम ओपन एआईले खरिद गरेको दाबी गरेको थियो । तर, औपचारिक रूपमा ओपनएआईले उक्त डोमेन खरिद गरेको कुरा कहीँ उल्लेख छैन ।

च्याटजीपीटीमा रिडाइरेक्ट हुने भएकाले यसलाई ओपनएआईले खरिद गरेको हो कि भन्ने धेरैको आशंका थियो । च्याटजीपीटीको यूआरएल लामो भएकाले प्रयोगकर्तालाई सम्झिन सहज बनाउन कम्पनीले यो डोमेन खरिद गरेको केही सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उक्त डोमेन बिक्रीका लागि एक करोड १० लाख डलर मागिएको स डटकम (saw.com) ले दाबी गर्दै आएको छ ।

सोही डोमेन अहिले एक्स एआईमा रिडाइरेक्ट हुन थालेको छ । इन्टरनेटमा दैनिक हजारौं डोमेन खरिद तथा बिक्रीका काम हुन्छन् । तर, दुई ओटा अक्षरको डोमेन नेम बिरलै पाइन्छन् । जसले गर्दा यस्ता डोमेन निकै महँगा हुन्छन् ।

ओपनएआईसँग भएको डोमेन एलन मस्कसँग कसरी आयो भन्ने कुराले अहिले धेरै जिज्ञासा उत्पन्न गराएको छ । कतिपयले एक्स डटकम ओपन एआईले खरिद गरेकै थिएन कि भन्ने प्रश्न पनि उठाएका छन् । फेरि एआई डटकम ओपनआईमा रिडाइरेक्ट गराउन कसैले किन लाखौं डलर तिर्छ भन्ने प्रश्न पनि उब्जिएको छ । 

एलन मस्क आफूले चाहेको डोमेन वा कुनै पनि युजरनेम पाउन जुनसुकै मूल्य चुकाउन तयार हुन्छन् भन्ने कुरा हालसालै ट्वीटर एक्समा रिब्रान्ड भएपछि झन् प्रस्ट भएको छ । एक्सआई ट्वीटर ह्यान्डल जापानी प्रयोगकर्ताबाट खोस्नु, एक्स युजरनेम अर्का प्रयोगकर्ताबाट खोस्नुले यो डोमेन पनि मस्कले ठूलो मूल्य तिरेर खरिद गरेका हुन् कि भन्ने देखिएको छ ।

यद्यपि अहिलेसम्म एक्स एआई, एलन मस्क वा एक्सले यसबारे औपचारिक वा अनौपचारिक कुनै पनि सूचना बाहिर ल्याएका छैनन् ।

हु इज लुकअप (whois lookup) मा हेर्दा एआई डटकममा हालसालै कुनै परिवर्तन गरेको देखिँदैन । यस डोमेनको स्वामित्व कोसँग छ भन्ने कुरा अहिले पनि गोप्य छ ।

माशेबलका अनुसार एआई डटकम एक्स एआईमा पछिल्लो ४८ घण्टाभित्र रिडाइरेक्ट हुने बनाइएको हुनसक्छ । त्यसबाहेक पनि यो डोमेन कोही अरूले खरिद गरेको र रमाइलोका लागि एक्स एआईमा रिडाइ‍रेक्ट गराइरहेको हो कि भन्ने पनि देखिन्छ ।

पछिल्लो अध्यावधिक: साउन १९, २०८० १६:३३