close

लुडो निर्माताले नेपालमै बनाएको क्यूआर डिभाइस, तत्काल बोलेरै दिन्छ भुक्तानीको जानकारी

टेकपाना टेकपाना

साउन २३, २०८० १२:१

लुडो निर्माताले नेपालमै बनाएको क्यूआर डिभाइस, तत्काल बोलेरै दिन्छ भुक्तानीको जानकारी

 

काठमाडौं । नेपाली प्रविधि कम्पनी यार्सा टेक प्रालिले क्यूआर कोडबाट भुक्तानी हुने बित्तिकै त्यसको जानकारी बोलेरै दिने उपकरण सार्वजनिक गरेको छ । ‘अउडी क्यूआर’ नाम दिइएको यो डिभाइस हालै मात्र सार्वजनिक भएको हो । 

टेकपानासँग कुरा गर्दै कम्पनीका प्रबन्ध निर्देशक एनजे सुवेदीले उक्त डिभाइसले क्यूआर मार्फत रकम प्राप्त हुनासाथ त्यसको जानकारी नेपाली भाषामै बोलेर दिने बताए ।

“हामीले नेपालमै इन्जिनियरिङ र डिजाइन गरी अउडी क्यूआर डिभाइस ल्याएका छौं,” सुवेदीले भने, “यो उपभोक्तालाई सोझै उपलब्ध गराउने उपकरणभन्दा पनि बैंक वा डिजिटल वालेट कम्पनीमार्फत वितरण गर्न तयार पारिएको हो ।”

बैंक तथा डिजिटल वालेट कम्पनीले डिभाइस माग गरेको अवस्थामा यी डिभाइस उपलब्ध गराउने सुवेदीले जनाए । “हामीबाट बैंक वा डिजिटल वालेट कम्पनीहरूले लिनुहुन्छ । उहाँहरूले आफ्नो क्यूआर इन्ट्रिगेट गरेर उपभोक्तालाई दिन सक्नुहुन्छ,” उनले थपे । 

दुई मोडलमा उपलब्ध अउडी क्यूआरको मूल्य करबाहेक २,२०० देखि ३,६०० रुपैयाँसम्म रहेको छ । यो डिभाइस नेपाल राष्ट्र बैंक र नेपाल दूरसञ्चार प्राधिकरणबाट प्रमाणित भइसकेको कम्पनीले जनाएको छ । 

“पूर्ण रूपमा कस्टमाइज गर्न सकिने यो डिभाइसमा आवश्यकता अनुसारका फिचरहरू थप गर्न सकिन्छ,” सुवेदीले भने । जीएसएम, वाईफाई लगायतका कनेक्टिभिटी सपोर्ट गर्ने यो डिभाइसमा कम्पनीले एक वर्षको रिप्लेसमेन्ट र दुई वर्षसम्मको निःशुल्क मर्मत सुविधा दिएको छ । 

त्यस्तै डिभाइसको सफ्टवेयरमा कम्पनीले पाँच वर्ष बढीको सपोर्ट उपलब्ध गराउने जनाएको छ । डिभाइस खरिद गर्ने वित्तीय संस्थालाई अउडी क्यूआर डिभाइस सहित क्लाउड ड्याशबोर्डको एक्सेस पनि दिइने सुवेदीले सुनाए । 

“जसरी इन्टरनेट सेवा प्रदायक कम्पनीले नोकिया वा अन्य कम्पनीको राउटरको सहायताले आफ्नो इन्टरनेट सुविधा उपलब्ध गराइरहेका हुन्छन्, यसको अवधारणा पनि त्यस्तै हो,” उनले भने, “वित्तीय संस्थाहरूले आफ्ना ग्राहकलाई यो डिभाइस उपलब्ध गराइसकेपछि त्यही क्लाउड ड्याशबोर्डबाट उनीहरूको आईपी एड्रेस राख्न सक्छन् ।” 

डिभाइसमा २,२०० एमएएच क्षमताको लिथियम आयन ब्याट्री राखिएको छ । यसले १२ घण्टाभन्दा बढीको ब्याट्री ब्याकअप दिने कम्पनीको दाबी छ । डिभाइसको भ्वाइस (आवाज) को नमुना र अन्य फिचर थाहा पाउन यहाँ क्लिक गर्न सक्नु हुनेछ । 

लुडो, कल ब्रेक, म्यारिज, ड्राइभिङ लाइसेन्स, रम्मी जस्ता चर्चित अनलाइन गेम निर्माता कम्पनीको रूपमा परिचित यार्साले पछिल्लो समय पावर बैंक, स्मार्ट बल्ब, र क्यूआर डिभाइस जस्ता हार्डवेयर उत्पादनमा समेत आफ्नो उपस्थिति विस्तार गर्दै लगेको छ । लुडो एप १०० मिलिनय भन्दा बढी पटक डाउनलोड भइसकेको छ । 

पछिल्लो अध्यावधिक: साउन २३, २०८० १२:५