close

राष्ट्रिय साइबर सुरक्षा नीति २०८० मन्त्रिपरिषद्बाट स्वीकृत

टेकपाना टेकपाना

साउन २३, २०८० १९:२४

राष्ट्रिय साइबर सुरक्षा नीति २०८० मन्त्रिपरिषद्बाट स्वीकृत

 

काठमाडौं । मन्त्रिपरिषद्ले राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत गरेकाे छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेकाे सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले जानकारी दिइन् ।

साइबर सुरक्षाका सन्दर्भमा यस्तो नीति पहिलो पटक स्वीकृत भएको हाे । यसको मस्याैदा नेपाल दूरसञ्चार प्रधिकरणले तयार पारेर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बुझाएकाे थियाे । त्यसपछि मन्त्रालयले विज्ञ तथा सरोकारवालाहरूसँग बसेर सुझाव लिएर मन्त्रिपरिषद्मा पेश गरेकाे थियाे ।

यस नीतिमा साइबर सम्बन्धी अबका रणनीति, कार्यनीति, उद्देश्य र योजना समेटिएको छ । त्यसबाहेक नेपालमा साइबर सुरक्षा सम्बन्धी अहिलेसम्मको अवस्था र पृष्ठभूमिबारे विवेचना गरिएको छ ।

नीतिमा सुरक्षित साइबर स्पेस बनाउने विषय पनि उल्लेख छ । "हाम्रो मुलुकमा प्रयोग भएको समग्र इन्टरनेटको अवस्था, त्यसले समेट्ने सबै सिस्टम विशेषगरी सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका विषयलाई सुरक्षित बनाएर लग्न सुरक्षित साइबर स्पेसका लागि भिजन मिसन, उद्देश्य, रणनीति, अनि कार्ययोजना सम्मका विषय यसले समेटेको छ,"  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले भने ।

"खासगरी रणनीति, कार्यनीति बनाउँदा यसको कानूनी पाटो कस्तो बन्छ, मुलुकमा साइबर सुरक्षाका लागि कस्तो संरचना बन्छ, कसरी क्षमता विकासका कार्यक्रम हुन्छन्, डेटा सुरक्षा कसरी गरिन्छ लगायतका कुरा राखिएका छन्," सुवेदीले अगाडि भने ।

राष्ट्रिय साइबर सुरक्षा नीति २०८० क्याबिनेटबाट छाप लगाएर आएपछि मन्त्रालयको वेबसाइटमा राखिने छ । त्यसपछि मात्र नीतिको पूर्ण पाठ हेर्न पाइने बताइएकाे छ ।

"यो नीति स्वीकृत भएसँगै हामीले के आशा गरेका छौं भने यसले कानूनलाई पनि मार्गनिर्देशन दिनेछ । संस्थाका रूपमा साइबर सुरक्षा केन्द्र बनाउने भनेका छौं, त्यो पनि स्थापना भएर अगाडि बढ्छ । नीति बनेपछि संस्थाहरूलाई साइबर सुरक्षा ऐन बनाउन मार्गदर्शन मिल्छ," सुवेदीले भने ।

पछिल्लो अध्यावधिक: साउन २३, २०८० २०:१३