close

स्कुटर चोरी नक्कली ब्लुबुक बनाएर फेसबुकमार्फत बिक्री गर्ने पुतलीसडकका रायमाझी पक्राउ

टेकपाना टेकपाना

साउन २३, २०८० २०:११

स्कुटर चोरी नक्कली ब्लुबुक बनाएर फेसबुकमार्फत बिक्री गर्ने पुतलीसडकका रायमाझी पक्राउ

काठमाडौं । प्रहरीले स्कुटर चोरी गरी नक्कली ब्लुबुक बनाएर फेसबुकको मार्केट प्लेसबाट बिक्री गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले स्कुटर चोरी बिक्री गर्ने कार्यमा संलग्न देखिएको भन्दै काठमाडौं पुतलीसडक घर भएका आजाद रायमाझीलाई सोमबार पक्राउ गरेको हो ।

गत २२ असारमा महाराजगञ्ज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट आशिष केसीको बा ८६ प ३०२२ नम्बरको सेतो रङको डिओ स्कुटर चोरी भएको थियो । उक्त स्कुटरको नम्बर, रङ र सवारी साधन दर्ता किताब (ब्लुबुक) समेत परिवर्तन गरी ३१ असारका दिन सफलजङ्ग रायमाझीले फेसबुकको मार्केट प्लेसमामार्फत बिक्रीमा राखेका थिए ।

काठमाडौं बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ७ बस्ने मनीषा योञ्जन तामाङले रायमाझीलाई फोन गरी काठमाडौंकै तेन्जिङ चोकमा भेट्न बोलाइन् । त्यसपछि उक्त स्कुटर ८३,००० हजार रुपैयाँमा खरिद गरि नामसारी गराउन यातायात कार्यालयमा बोलाउँदा उनले उक्त ब्लुबुकमा केरमेट गरी स्कुटरमा नम्बर प्लेट परिवर्तन गरेको थाहा हुन आयो ।

त्यसपछि फोन गर्दा अफ गरी रायमाझीलाई फरार भए । काठमाडौं महानगरपालिका वडा नम्बर ३० पुतलीसडक घर भएका उनी हाल वडा नम्बर ६ तेन्जिङ चोकमा बस्दै आएका थिए ।

सफल नामले चिनिने आजाद रायमाझीको उक्त कार्यमा संलग्नता खुल्न आएको प्रहरीले जनाएको छ  । तेन्जिङ चोकबाटै  पक्राउ परेका उनीमाथि चोरी, ठगी र लिखत सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीको प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

पछिल्लो अध्यावधिक: साउन २३, २०८० २०:१२