काठमाडौं । साइबर सुरक्षासम्बन्धी दक्ष जनशक्ति उत्पादन गर्न सरकारले फिनिशिङ स्कुल खोल्ने भएको छ । हालै मन्त्रिपरिषदबाट स्वीकृत राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० मा फिनिशिङ स्कुलको व्यवस्था गर्ने उल्लेख छ ।
''साइबर सुरक्षा सम्क्बन्धी दक्ष जनशक्ति उत्पादन गर्न साइबर सुरक्षाको क्षेत्रमा कार्य गर्ने संघ संस्थासँगको सहकार्यमा साइबर सुरक्षिा फिनिशिङ स्कुलको व्यवस्था गरिने छ,'' उक्त नीतिमा भनिएको छ ।
त्यस्तै विद्यालय र उच्च शिक्षाको पाठ्यक्रममा साइबर सुरक्षासम्बन्धी विषय समावेश गर्ने कार्यक्रम समेत अटाएको छ । यस क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँग सहकार्य गर्ने, साइबर सुरक्षासम्बन्धी अध्ययन, अनुसन्धान तथा विकासका लागि विश्वविद्यालयहरूलाई प्रोत्साहित गर्ने, साइबर सुरक्षा क्षेत्रमा कार्यरत सार्वजनिक निकायका जनशक्तिको क्षमता अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय मापदण्डअनुरूपका तालिमको व्यवस्था गर्ने, नेपाल कम्प्युटर आकस्मिक सहायता समूहको क्षमता अभिवृद्धि गर्ने लगायतका कार्यक्रम उक्त नीतिमा राखिएको छ ।
सरकारी निकायहरूमा आवश्यकताअनुसार साइबर सुरक्षासँग सम्बन्धित दक्ष जनशक्ति व्यवस्था गर्ने, सार्वजनिक तथा निजी क्षेत्रका सूचना सुरक्षा पेसाकर्मीहरूको योग्यता पहिचान गरी नियमित क्षमता विकास गर्ने व्यवस्था गर्ने, संवेदनशील सेवा प्रदायकहरू समेटिने गरी वार्षिक रूपमा राष्ट्रिय साइबर ड्रिल आयोजना गर्ने कार्यक्रम पनि समावेश गरिएको छ ।