close

साइबर सुरक्षा सरकारको प्राथमिकतामाः मन्त्री शर्मा

टेकपाना टेकपाना

साउन २६, २०८० १७:४८

साइबर सुरक्षा सरकारको प्राथमिकतामाः मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सचेतनालाई प्रभावकारी बनाउनुपर्ने बताएकी छन् । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ, सूचना तथा सञ्चार प्रविधिमा महिला समितिका पदाधिकारी तथा सदस्यहरुसँगको भेटमा उनले साइबर सुरक्षाको सवाल संवेदनशील भएकाले यसमा सचेतनालाई प्रभावकारी बनाउनुपर्ने भनाइ राखिन् ।

सरकारले चालू आर्थिक वर्षको बजेटमा डिजिटल साक्षरताका कार्यक्रम अघि सारेको जानकारी दिँदै मन्त्री शर्माले मन्त्रालय माताहतका अन्य निकायबाट पनि यस्ता कार्यक्रम अघि सारिएको उल्लेख गरिन् । नेपालमा पहिलोपटक साइबर सुरक्षा नीति जारी गरिएको सन्दर्भ उल्लेख गर्दै मन्त्री शर्माले साइबर सुरक्षा सरकारको प्राथमिकतामा रहेको बताइन् ।

साइबर सुरक्षाका लागि निरन्तर अनुगमन गरी सुरक्षित अनलाइन स्पेस निर्माण गर्नुलाई पनि साइबर सुरक्षा नीतिको रणनीति बनाइएको उल्लेख गर्दै मन्त्री शर्माले महिला, बालबालिका वा लैंगिक तथा यौनिक अल्पसंख्यक व्यक्तिका विरुद्ध लक्षित अनलाइन सेवाहरुलाई निषेध गर्ने नीति लिइएको जानकारी दिइन् । इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोगमार्फत हुने विभिन्न प्रकारका हिंसा एवं विभेद अन्त्य गर्ने पनि नीतिको उद्देश्य रहेको उनको भनाइ थियो ।

सूचना प्रविधि क्षेत्रमा विपन्न वर्गको पहुँच स्थापित गर्न विश्वविद्यालय अनुदान आयोगसँगको सहकार्यमा छात्रवृत्तिको व्यवस्था गरिएको जानकारी दिँदै उनले यसमा महिलालाई प्राथमिकता दिने प्रतिबद्धता जनाइन् ।

क्यान महासंघ, सूचना प्रविधिमा महिला समितिले ज्ञापनपत्र बुझाउँदै सूचना प्रविधिमा महिला सहभागिताको महत्वबारे सचेतना कार्यक्रम चलाउनुपर्ने, मेन्टरशिप र नेटवर्किङका अवसर उपलब्धि गराउनुपर्ने, विविधता र समावेशीकरणलाई प्रवर्धन गरी महिलाका लागि अवसर विस्तार गर्नुपर्ने माग राखेको थियो । 

पछिल्लो अध्यावधिक: साउन २६, २०८० १७:४८