close

अब ह्वाट्सएपबाटै एचडी क्वालिटीको फोटो र भिडिओ पठाउन सकिने

टेकपाना टेकपाना

भदौ १, २०८० १२:३९

अब ह्वाट्सएपबाटै एचडी क्वालिटीको फोटो र भिडिओ पठाउन सकिने

काठमाडौं । एचडी फोटो तथा भिडिओ पठाउन सकिने ह्वाट्सएपको बहुप्रतिक्षित फिचर सार्वजनिक भएको छ । मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले बिहीबार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै सो फिचर सार्वजनिक भएको घोषणा गरेका छन् ।

यो फिचरको सहायताले अब आईओएस, एन्ड्रोइड तथा वेबबाट एचडी क्वालिटीको फोटो तथा भिडिओ पठाउन सकिनेछ । यो फिचर प्रयोग गर्न सबैभन्दा पहिले प्रयोगकर्ताले ह्वाट्सएपको नयाँ अपडेट इन्स्टल गर्नुपर्छ ।

नयाँ अपडेट आइसकेपछि फोटो पठाउन फोटो छानिसकेपछि सबैभन्दा माथि ‘HD’ को सानो लोगो देखिन्छ । सो अप्सनमा ट्याप गरेपछि बाई डिफल्ट फोटो स्ट्यान्डर्ड क्वालिटीको अप्सन छानिएको हुन्छ ।

यति भएपछि तपाईंले एचडीको अप्सन छानी फोटो पठाउनुभयो भने सो फोटो सहजै एचडी क्वालिटीमा पठाउन सकिन्छ । यस्तो फोटो पठाउन केही बढी डेटा खपत हुने कम्पनीले जनाएको छ । फोटो पठाइसकेपछि उक्त फोटोमा एचडीको आइकन देख्न सकिन्छ ।  

कसरी पठाउने एचडी फोटो ? 

तपाईंले जस्तो क्वालिटीको फोटो पनि सामान्य तरिकाले ह्वाट्सएपबाट पठाउनु भयो भने पाउने व्यक्तिले क्वालिटी घटेको फोटो पाउँछ । तर, तपाईंले कुनै पनि फोटोमा एचडीको अप्सन छान्नुभयो भने फोटोको क्वालिटी थोरै मात्र घट्छ ।

त्यसैले जुनसुकै फोटो पनि राम्रो क्वालिटीको जाओस् भन्नका लागि एचडीको अप्सन छानेर पठाउनुपर्ने हुन्छ । एचडी फोटो पठाउन तलको प्रक्रिया अपनाउनुहोस्:

- सबैभन्दा पहिले आफ्नो डिभाइसमा पठाउनुपर्ने फोटो राख्नुहोस् ।

 

- त्यसपछि ह्वाट्सएप एप (एन्ड्रोइड, आईओएस तथा वेब) खोल्नुहोस् । 

- अनि आफूले एचडी फोटो पठाउन चाहेको कन्ट्याक्ट छान्नुहोस् । 

- त्यसपछि फोटोको माथि रहेको एचडीको आइकनमा ट्याप गर्नुहोस् । 

- अनि, तलपट्टि खुल्ने पप-अप पेजमा पुनः एचडी क्वालिटी छान्नुहोस् । 

- त्यसपछि फोटो सेन्ड गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: भदौ १, २०८० १२:५०