काठमाडौं । ईकमर्स प्लेटफर्म अमेजनले ग्राहकले दिएको रिभ्युको आधारमा कुनै पनि उत्पादन कस्तो छ भन्ने विषयको जानकारी छोटकरीमा दिने एआई टुल सार्वजनिक गर्ने भएको छ । हाल परीक्षणकै क्रममा रहेको यो टुल कम्पनीले यसै वर्ष सार्वजनिक गर्ने तयारी गरेको हो ।
ईकमर्स प्लेटफर्ममा राखिएका प्रोडक्टमा सयौं प्रयोगकर्ताले प्रतिक्रिया (रिभ्यु) दिएका हुन्छन् । त्यसमा पनि सामान खरिद गरिसकेका ग्राहकले स्टार दिएर वा लेखेर सम्बन्धित प्रोडक्ट कस्तो लाग्यो भन्ने जानकारी दिन सक्छन् ।
तर, कसैले रिभ्यु एउटा लेखेर रेटिङ फरक गरेका पनि हुन सक्छन् । जसले गर्दा सामान राम्रै भए पनि रेटिङ कम हुँदा त्यस्तो सामान ग्राहकको नजरमा नपर्न सक्छ । त्यस्तै सयौं ग्राहकले दिएको प्रतिक्रिया पढेर सो प्रोडक्ट राम्रो छ वा छैन भन्ने छुट्याउने फुर्सद अन्य ग्राहकलाई नहुन सक्छ ।
त्यसैलाई मध्यनजर गर्दै कम्पनीले सामान उपयोग गरिसकेका सबै ग्राहकले दिएका प्रतिक्रिया समेटेर छोटकरीमा उक्त सामान कस्तो छ भन्ने जानकारी दिने एआई टुल समावेश गर्न लागेको हो ।
कम्पनीका अनुसार सो एआई टुलले हरेक प्रोडक्टका रिभ्युलाई विश्लेषण गर्नेछ र, त्यसबाट तयार पारिएको छोटो जानकारी प्रोडक्टको डिटेल पेजमा देखिनेछ । कम्पनीका अनुसार सुरुवाती चरणमा अमेजनमा सूचीकृत भएका मोबाइल पसलको एआई रिभ्यु समावेश गरिने छ । अन्य प्रोडक्ट र क्याटेगोरीमा एआई रिभ्यु आगामी महिनामा समावेश गरिने अमेजनका डाइरेक्टर अफ कम्युनिटी शपिङ भोउगन सेर्मेहनले अन्तर्राष्ट्रिय सञ्चार माध्यम एपीलाई बताएका छन् ।
पछिल्लो समय एआईको चर्चा बढ्दै गएपछि अमेजनले विभिन्न तरिकाले आफ्नो प्लेटफर्ममा एआई प्रविधि समाहित गर्न खोजिरहेको छ । यसका लागि कम्पनीले अन्य कम्पनीले तयार पारेका एआई टुल प्रयोग गरिरहेको छ । अमेजनले हालसम्म आफ्नै एआई च्याटबट सार्वजनिक गरेको भने छैन । त्यसबाहेक एआईका सन्दर्भमा यो कम्पनीले अमेजन वेब सर्भिस (एडब्लूएस) मार्फत एआई टुल बनाउने डेभलरपलाई क्लाउड सेवा उपलब्ध गराउनमा केन्द्रित छ ।