close

फेरियो प्राधिकरणको एमआईएस, अबदेखि मासिक इन्डिकेटर र त्रैमासिक इन्साइट आउने

टेकपाना टेकपाना

भदौ ५, २०८० १७:४३

फेरियो प्राधिकरणको एमआईएस, अबदेखि मासिक इन्डिकेटर र त्रैमासिक इन्साइट आउने

काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले हरेक महिना प्रकाशित गर्दै आएको म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (एमआईएस) प्रतिवेदन परिवर्तन गरेको छ । सोमवार वैशाख महिनाको टेलिकम्युनिकेसन इन्डिकेटर (दूरसञ्चार सूचकाङ्क) प्रकाशित गर्दै नियामकले त्यसको जानकारी दिएको हो ।

यससँगै अब परिवर्तित एमआईएस टेलिकम्युनिकेसन इन्डिकेटर्सको रूपमा हरेक महिना प्रकाशित हुनेछ । त्यस्तै त्रैमासिक रूपमा दूरसञ्चार क्षेत्रका विस्तृत विवरण समावेश गरिएको टेलिकम्युनिकेसन्स इन्साइट प्रकाशित गरिने प्राधिकरणले जनाएको छ ।

इन्डिकेटर्समा भ्वाइस टेलिफोनी र डेटा तथा ब्रोडब्यान्ड इन्टरनेटको तथ्याङ्क एवम् पहुँच जस्ता विवरण समावेश हुनेछन् । इन्साइटमा भने इन्डिकेटर्समा समावेश विवरणका साथै सेवा प्रदायकबाट निश्चित अवधिमा भएका कूल कल सङ्ख्या, आयात तथा प्रयोग भएको डेटाको मात्रा, एचएलआर तथा भीएलआरमा आधारित ग्राहक सङ्ख्या समेटिनेछन् ।

त्यस्तै बजार हिस्सा, प्रति प्रयोगकर्ता आम्दानी, सेवा बिक्रीको आम्दानी, वृद्धिको प्रवृत्ति, पहुँच नक्सा, दूरसञ्चार पूर्वाधारको विवरण, प्राधिकरणका गतिविधि, लाइसेन्स सम्बन्धी गतिविधि, टाइप एप्रुभल, नम्बरिङ, ग्रामीण दूरसञ्चार विकास कोष, विदेशी मुद्रा सिफारिस लगायतका विवरण समेत त्यसमा रहने बताइएको छ ।

पछिल्लो अध्यावधिक: भदौ ५, २०८० १७:४३