काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो)ले करिब एक महिनाअघि प्रक्षेपण गरेको चन्द्रयान ३ आज चन्द्रमामा अवतरण हुने भएको छ । भारतको महत्वकाङ्क्षी परियोजना अन्तर्गतको चन्द्रयान-३ नेपाली समय अनुसार आज बेलुका ६ः१९ बजे अवतरण हुने अनुमान छ ।
चन्द्रयान ३ लाई चन्द्रमाको दक्षिण धुव्रमा प्रक्षेपण गर्न लागिएको छ । यदि यो परियोजना सफल भएमा भारत दक्षिण धुव्रमा चन्द्रयान प्रक्षेपण गर्ने पहिलो र चन्द्रमाको सतहमा चन्द्रयान सफलतापूर्वक अवतरण गर्ने चौंथो देश बन्नेछ ।
यसअघि अमेरिका, तत्कालीन साेभियत संघ र चीनले सफलतापूर्वक चन्द्रमाको सतहमा यान प्रक्षेपण गरिसकेका छन् । हालै चन्द्रमाको दक्षिण ध्रुवमा अवतरण गर्ने योजनाका साथ उडेको रुसको लुना २५ यान आइतबार चन्द्रमाको सतहमा दुर्घटनामा परेको थियो ।
यो घटनापछि चन्द्रयान ३ ले अवतरण गर्न सुरक्षित स्थानको खोजी गरिरहेको इसरोले जनाएको थियो । यद्यपि अहिले भने सबै अवस्था ठीक रहेको र लाइभ भारतीय समय अनुसार बेलुका ५ः३५ देखि सुरु हुने इसरोले उल्लेख गरेको छ ।
यो परियोजनाको मुख्य उद्देश्य नै चन्द्रमामा पानीको बरफको फेला पार्नु हो । जसले निकट भविष्यमा मानवका लागि चन्द्रमा उचित वासस्थान हुन्छ वा हुँदैन भन्ने निश्चित गर्छ । चन्द्रमाको दक्षिण धुव्र सधैं अँध्यारो हुने भएकाले त्यस क्षेत्रमा पानीको बरफ हुने सम्भावना उच्च भएको वैज्ञानिकले जनाएका छन् ।
इसरोले मंगलबार एक्समार्फत चन्द्रयानको ल्यान्डर पोजिसन डिटेक्सन क्यामेरा (एलपीडीसी)ले चन्द्रमादेखि ७० किलोमिटर माथिबाट खिचेको फोटो सार्वजनिक गरेको थियो । हाल इसरोको आधिकारिक युट्युब च्यानलबाट शेड्युलमा राखिएको लाइभ बुधबार साँझ पौने ६ बजेदेखि प्रसारण हुनेछ ।
वेबसाइटमा लाइभ हेर्न यहाँ, फेसबुकमा हेर्न यहाँ र युट्युबमा लाइभ हेर्न यहाँ क्लिक गर्नुहोस् ।