काठमाडौं । चन्द्रयान, अंग्रेजी अर्थमा 'मुन क्राफ्ट' । चन्द्रमाको अनुसन्धान गर्न भारतले सञ्चालन गरेको श्रङ्खलाबद्ध परियोजना । यसलाई इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन अर्थात भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले सञ्चालन गरिरहेको छ ।
चन्द्रमाको सतह, त्यहाँ पाइने खनिज पदार्थ, पानी तथा बरफको खोजी गर्नु चन्द्रयान परियोजनाको उद्देश्य हो । अहिलेसम्म यो परियोजनामार्फत तीन चन्द्रयानलाई इसरोले प्रक्षेपण गरिसकेको छ । जसमध्ये दुईमा सफलता र एउटामा असफलता हात परेकाे छ ।
चन्द्रयान परियोजनाको सुरुवात
इसरोले सन् २००३ देखि यस मिसनको सुरुवात गरेको थियो । यसको घोषणा तत्कालीन भारतीय प्रधानमन्त्री अटल बिहारी बाजपेयीले १५, अगस्ट २००३ (भारतको स्वतन्त्रता दिवस) मा गरेका थिए ।
२२ अगस्ट २००८, भारतका लागि निकै महत्त्वपूर्ण थियो । त्यस दिन चन्द्रयान मिसन अन्तर्गत भारतले पहिलो पटक आफ्नो चन्द्रयान-१ प्रक्षेपण गर्दै थियो । यसमा मुख्य भागमा एउटा अर्बिटर थियो, जसले चन्द्रमालाई परिक्रमा गर्थ्यो ।
भारतले यस परियोजनामा काम गर्दै गर्दा तत्कालीन राष्ट्रपति एपीजे अब्दुल कलाम इसरोको कार्यालयमा भ्रमणका लागि गए । त्यहाँ उनले वैज्ञानिकहरूलाई चन्द्रयान-१ ले चन्द्रमामा के के गर्छ भनेर सोधे ।
इसरोका पूर्व अध्यक्ष जी माधवन नायरले चन्द्रमाको सतहको तस्वीर मात्र लिने बताए । राष्ट्रपति कलामले यतिले मात्र नपुग्ने र यानले चन्द्रमाको सतहमा कुनै उपकरण खसाउनु पर्ने सुझाव दिए । इसरोले उनको सल्लाह मान्यो । र तयार पार्यो, मुन इम्प्याक्ट प्रोब अर्थात् एमआईपी । जुन चन्द्रमाको सतह चुम्ने पहिलो भारतीय वस्तु बन्यो ।
चन्द्रयान-१
चन्द्रयान-१ मा त्यही मुन इम्प्याक्ट प्रोब (एमआईपी) र अर्बिटर गरी मुख्य दुई वस्तु थिए । जसमध्ये अर्बिटरलाई चन्द्रमाको सतहको ‘म्यापिङ’ गर्न र यसको संरचनाबारे अध्ययन गर्न प्रयोग गरिएको थियो । उक्त अर्बिटरमा हाई रेजाेलुसन क्यामेरा, मल्टिस्पेक्ट्रल इमेजर र गामा रे स्पेक्ट्रोमिटर सहित ११ ओटा वैज्ञानिक उपकरण राखिएको थियो ।
एमआईपीलाई भने चन्द्रमाको सतहमा झार्न (क्र्यास गर्न) गर्न डिजाइन गरिएको थियो । यसबाट वैज्ञानिकले कुनै पनि वस्तु चन्द्रमामा दुर्घटना हुँदा कस्तो हुन्छ, चन्द्रमाको सतह कस्तो छ लगायत अन्य विषयमाथि अध्ययन गरेका थिए ।
यस मिसनबाट चन्द्रमाको माटोमा पानीको अणुहरू रहेको पत्ता लाग्नुका साथै ध्रुवीय क्षेत्रहरूमा बरफको सतह भएको पत्ता लगेको थियो । त्यस्तै चन्द्रमाको चट्टान र यसको भित्री भागको संरचनाबारे पनि नयाँ तथ्यहरू पत्ता लागेको थियो । भारतको अन्तरिक्ष कार्यक्रममा चन्द्रयान-१ एउटा प्रमुख माइलस्टोन बन्यो । किनकी यही मिसनले भारतलाई अन्तरिक्ष विज्ञानमा स्थापित राष्ट्र बन्न मद्दत गरेको थियो ।
चन्द्रयान-१ लाई सतिश धावन स्पेस सेन्टर (एसडीएससी) बाट २२ अगस्ट २००८ का दिन उडाइएको थियो । उडाउन भने पोलार स्याटलाइट लञ्च भेहिकल (पीएसएलभी) एक्स एल रकेट प्रयोग गरिएको थियो । यसको अर्बिटरले नोभेम्बर ८, २००८ मा लुनार अर्बिट (चन्द्र कक्ष) मा प्रवेश गर्यो ।
यानको अर्बिटरबाट एमआईपीलाई नोभेम्बर १४ मा छोडिएको थियो भने नोभेम्बर १८ मा यसलाई क्र्याश गराइएको थियो । अर्बिटरले अगस्ट २९, २००९ सम्म काम गरेको थियो । त्यसपछि यो सम्पर्कविहिन भयो । यसले चन्द्रमालाई ३४०० पटक परिक्रमा गरेको बताइन्छ । पाँच वर्षमा निर्माण सम्पन्न भएको चन्द्रयान-१ परियोजना बनाउन ३८६ करोड भारु (६ अर्ब ९० करोड रुपैयाँ) लागेको थियो । यस परियोजना एक सफल मिसन मानिन्छ ।
चन्द्रयान-२
पहिलो प्रयासमा नै चन्द्रयान परियोजना सफल भएपछि भारतले चन्द्रयान-२ पनि सुरु गर्यो । चन्द्रयान यानलाई सन् २०११/१२ तिर लञ्च गर्ने भारतको योजना थियो । तर त्यस समयमा प्रक्षेपण हुन सकेन । किनकी भारतले परियोजनामा रोभरका लागि रुससँग सहकार्य गर्न खोजेका थिए । तर रुसले प्राविधिक सहयोग नगर्दा भारत स्वयंले आवश्यक पर्ने प्राविधिक सामग्री विकास गर्यो । जुन भारतका लागि विकुल्नै नयाँ र फरक थियो । यिनैकारण यो मिसन ढिलो भएको बताउने गरिएको छ ।
यसमा भारत स्वयंले विकास गरेको विक्रम ल्यान्डर र प्रज्ञान रोभर थियो । विक्रम ल्यान्डरले प्रज्ञान रोभर बोकेको थियो । जसलाई चन्द्रमाको सतहमा ५०० मिटर गुड्ने गरी डिजाइन गरियो । रोभरमा क्यामेरा, स्पेक्ट्रोमिटर र म्याग्नेटोमिटर जस्ता वैज्ञानिक उपकरणहरू राखिएको थियो ।
भारतका लागि यो मिसन निकै महत्त्वपूर्ण थियो । किनकी चन्द्रमामा भारतले पहिलो पटक आफ्नो यान अवतरण गर्न लाग्दै थियो । यसै मिसनले भारतलाई स्वतन्त्र रुपमा अन्तरिक्ष परियोजनाहरू सञ्चालन गर्न सक्ने राष्ट्रको रुपमा विकास गरेको थियो ।
भारतले चन्द्रयान-२ लाई २२ जुलाई, २०१९ मा जियोसिन्क्रोनस स्याटेलाइट लञ्चिङ भेहिकल मार्क ३ बाट उडायो । यसलाई पनि एसडीएससीबाट नै प्रक्षेपण गरिएको थियो । यो यान अगस्ट २०, २०१९ का दिन चन्द्रमाको कक्षमा प्रवेश गर्यो । इसरोले चन्द्रयान-२ लाई चन्द्रमाको दक्षिण ध्रुवीय क्षेत्रमा अवतरण गर्ने प्रयास गरेको थियो ।
चन्द्रमाको दक्षिणी ध्रुवमा उति धेरै खोज गरिएको थिएन । त्यहाँ पानीको स्रोत बरफ हुन सक्ने भएकाले त्यसैको अध्ययन गर्न इसरोको त्यो मिसन केन्द्रित थियो । यसबाहेक चन्द्रमाको सतहबारे अध्ययन गर्नु पनि इसरको लक्ष्य थियो । त्यसका लागि टेरेन म्यापिङ क्यामेरा (टीएमसी), मुन मिनेरलोजी म्यापर (एम थ्री), अर्बिटर हाई रेजाेलुसन क्यामेरा (ओएचआरसी), लुनार लेजर रेन्जिङ इन्स्ट्रुमेन्ट (एलएलआरआई) जस्ता प्रविधि राखिएका थिए ।
इसरोले विक्रम ल्यान्डर र प्रज्ञान रोभरले सेप्टेम्बर ७, २०१९ मा चन्द्रमामा अवतरण गर्ने योजना बनाएको थियो । तर चन्द्रमाको सतह चुम्न अगावै ग्राउन्ड कन्ट्रोलसँग सम्पर्ट टुट्यो । र आधिकारिक रुपमा इसरोले चन्द्रयान-२ ल्याङ्डिङको क्रममा चन्द्रमामा दुर्घटना भएको पुष्टि गर्यो । यद्यपि यसको अर्बिटर भने अझै सञ्चालनमा छ । त्यसले चन्द्रमाको अध्ययन गर्ने कार्य जारी नै राखेको छ ।
चन्द्रयान-२ दुर्घटना हुनुको कारण अहिले पनि अज्ञात नै छ । तर इसरोले सफ्टवेयरमा समस्या हुनु, ब्रेकिङ सिस्टममा त्रुटि हुनु जस्ता केही प्राविधिक कारणले असफल भएको बताएको छ । यसको लागत भने ९९७ करोड भारु (एक खर्ब ४६ अर्ब रुपैयाँ) खर्च भएको बताइन्छ । इसरोको यो एक असफल परियोजना हो ।
चन्द्रयान-३
भारतले चन्द्रयान-२ को त्यही असफलताबाट शिक्षा लिँदै पुन: अर्को मिसन सुरु गर्यो, चन्द्रयान-३ । यो त्यस्तो मिसन बन्यो जसबाट चन्द्रामामा यान अवतरण गर्ने चौथौ र दक्षित ध्रुव पुग्ने पहिलो देश भारत बन्यो । यो परियोजनाको मुख्य उद्देश्य पनि चन्द्रमामा पानीको स्रोत फेला पार्नु रहेको छ ।
यदि चन्द्रमामा पानीको स्रोत फेला परे निकट भविष्यमा मानवका लागि चन्द्रमा उचित वासस्थान हुने बताइन्छ । चन्द्रमाको दक्षिण ध्रुव सधैं अँध्यारो हुने भएकाले त्यस क्षेत्रमा पानीको बरफ हुने सम्भावना उच्च भएको अनुमान गरिएकाे छ ।
तिनै विषयको अध्ययन गर्न अल्फा पार्टिकल एक्स-रे स्पेक्ट्रोमिटर (एपीएक्सएस), लेजर इन्ड्युस्ड ब्रेकडाउन स्पेक्ट्रोस्कोपी (एलआईबीएस), प्यासिभ लुनर लेजर रेट्रोरेफ्लेक्टर एरे, इन्ट्रुमेन्ट फर लुनर सेइजमेक एक्टिभिटी (आईएलएसएस) जस्ता वैज्ञानिक उपकरणहरू राखिएका छन् । करिब पाँच वर्ष समय लगाएर निर्माण भएको यस यान बनाउन भारतले ६१५ करोड भारु अर्थात् १० अर्ब नेपाली रुपैयाँ (७५ मिलियन डलर) खर्च गरेको थियो ।
चन्द्रयान-३ लाई एसडीएससीबाट जुलाई १४ का दिन लञ्च गरिएको थियो । चन्द्रमामा भने अगस्ट २३ मा अवतरण गरेको थियो । त्यसमा विक्रम ३ नामक ल्यान्डर प्रज्ञान रोभर छ । यो चन्द्रयान परियोजना अन्तर्गत भारतको सफल परियोजना हो । यसबाट भारत मात्र नभइ सारा वैज्ञानिक जगतले लाभ लिने अपेक्षा गरिएको छ ।