close

चन्द्रामाका लागि उड्यो भारतीय रकेट चन्द्रयान

टेकपाना टेकपाना

असार २९, २०८० १५:५६

चन्द्रामाका लागि उड्यो भारतीय रकेट चन्द्रयान

काठमाडौं । भारतले आफ्नो चन्द्र मिसनका लागि तेस्रो रकेट प्रक्षेपण गरेको छ । शुक्रबार आन्द्र प्रदेश स्थित सतिश धवन अन्तरिक्ष केन्द्रबाट चन्द्रयान ३ को सफलतापूर्वक प्रक्षेपण गरिएको हो ।

यो समाचार तयार पार्दासम्म भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले चन्द्रयान अन्तरिक्ष कक्षमा प्रवेश गरिसकेको पुष्टि गरेको छ । आज स्थानीय समय अनुसार दिउँसो २:३५ बजे लञ्च भेहिकल मार्क ३ नामक रकेटले चन्द्रयान ३ लाई लिएर उडेको थियो ।

इसरोले यो यानलाई चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने योजना बनाएको छ । यो चन्द्रमाको यस्तो ठाउँ हो, जहाँको जानकारी अहिलेसम्म कतै पनि उपलब्ध छैन ।

यो यान अबको करिब ४५ दिनपछि अर्थात् अगस्ट अन्त्यसम्म चन्द्रमाकाे सतहमा पुग्ने अनुमान छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कार्यकर्ममा बोल्दै रकेटले तीन लाख किलोमिटरको दूरी तय गरी चन्द्रमाको सतहमा पुग्ने बताएका छन् । 

यस परियोजनाका लागि हालसम्म भारतले सात करोड ५० लाख अमेरिकी डलर खर्च गरिसकेको छ । यो यान सफलता पूर्वक चन्द्रमामा पुगेको खण्डमा त्यहाँ पाइने माटो, पानी, रासायनिक तत्त्व जस्ता प्राकृतिक स्रोतसाधनहरूको अध्ययन गर्नेछ ।

त्यस्तै चन्द्रमाको बनावट बारे थप जानकारी सङ्कलन गर्ने बताइएकाे छ  । यी वैज्ञानिक परीक्षणका लागि यानले विभिन्न उपकरणहरू पनि लिएर चन्द्रका लागि उडेकाे हो ।

जसमा सिस्मोमिटर, स्पेक्ट्रो पोलारिमेट्री अफ भिजेटेबल प्लानेट अर्थ (एसएचएपीई) लगायतका विभिन्न उपकरण रहेका छन् । यानमा राखिएका विभिन्न प्रविधिले चन्द्रमामा हुने तापमान तथा वातावरणका अन्य तत्त्वहरूको बारेमा पनि अनुसन्धान गर्ने वैज्ञानिकले बताएका छन् ।

यसले चन्द्रमाको कक्ष बारे जानकारी प्राप्त गर्न सहयोग गर्ने छ । यो अभियान केवल भारतका लागि मात्र नभइ विश्व वैज्ञानिक समुदायका लागि महत्त्वपूर्ण रहेको बताइएको छ ।

यस अघि भारतले चन्द्र मिसन अन्तर्गत चन्द्रयान १ र चन्द्रयान २ गरी दुई ओटा यान प्रक्षेपण गरिसकेको छ । तर ती दुवै यान सफल हुन भने सकेनन् ।

यो परियोजना सफल भए भारत चन्द्रमाको सतहमा चन्द्रयान पुर्‍याउने चौथो राष्ट्र हुनेछ । यसअघि अमेरिका, रुस र चीनले सफलतापूर्वक चन्द्रमाको सतहमा चन्द्रयान अवतरण गरिसकेका छन् ।

चन्द्रयानको प्रक्षेपण हेर्न सतिश धवन अन्तरिक्ष केन्द्रमा थुप्रै व्यक्तिहरूको उपस्थिति रहेको थियो । त्यस्तै  इसरोले अब चन्द्रमा अवतरण गराउन पनि आफूहरूले सफलता हुने गरी लाग्ने जनाएको छ ।




 

पछिल्लो अध्यावधिक: असार २९, २०८० १६:४२