काठमाडौं । बुधवार भारतको चन्द्रयान-३ ले चन्द्रमाको दक्षिण ध्रुव नजिकै सफलतपूर्वक अवतरण गर्यो । त्यससँगै भारतले चन्द्रमाको सतहमा यान पठाउने चौंथो र दक्षिण ध्रुव नजिकै अवतरण गराउने पहिलो देश बनेको छ ।
भारतको यो सफलताका पछाडि भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का वैज्ञानिकहरूको ठूलो भूमिका छ । आज हामी तीमध्ये केही प्रमुख वैज्ञानिक र उनीहरूको शैक्षिक पृष्ठभूमिबारे चर्चा गर्दै छौं:
१. एस सोमनाथ
एस सोमनाथ इसरोका अध्यक्ष, अन्तरिक्ष विभागका सचिव तथा अन्तरिक्ष आयोगका अध्यक्ष हुन् । उनले टीकेएम कलेज अफ इन्जिनियरिङ, कोल्लमबाट बीटेक इन मेकानिकल इन्जिनियरिङ उत्तीर्ण गरेका छन् । साथै उनले भारतीय विज्ञान संस्थान, ब्याङ्लोरबाट एरोस्पेस इन्जिनियरिङमा स्नातकोत्तर पूरा गरेका छन् ।
उनी गोल्ड मेडलिस्ट समेत हुन् । उनले पढेको टीकेएम कलेज सन् १९५६ बाट सुरु भएको थियो । यो कलेज केरलामा पहिलो पटक इन्जिनियरिङ पढाउने कलेज हो ।
२. एम शंकरन
एम शंकरन यूआर राव स्याटलाइट सेन्टर (यूआरएससी) का निर्देशक हुन् । इसरोका सबै प्रकारका स्याटलाइटको डिजाइन र विकास गर्न यो संस्थाको ठूलो भूमिका छ ।
शंकरनले सन् १९८६ मा भारतीदासन विश्वविद्यालयबाट भौतिकशास्त्रमा स्नातकोत्तर गरेका थिए । त्यसपछि इसेरोको उपग्रह केन्द्र (आईएसएसी) मा जोडिए । जसलाई अहिले यूआरएससी भनेर चिनिन्छ ।
उनले अध्ययन गरेको भारतीदासन विश्वविद्यालय फेब्रुअरी १९८२ मा स्थापना भएको थियो । क्रान्तिकारी तमिल कवि भारतीदासनको नामबाट उक्त विश्वविद्यालयको नामाकरण गरिएको हो ।
यो विश्वविद्यालयमा चार संकाय, १६ स्कुल, ३९ विभाग र २९ विशेष अनुसन्धान केन्द्रहरू छन् । विश्वविद्यालयले १५१ कोर्स सञ्चालन गर्छ ।
३. भी नारायणन
भी नारायणन भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसराे) का एक प्रतिष्ठित वैज्ञानिक हुन् । उनी हाल इसराेका प्रमुख केन्द्रहरू मध्येको एक लिक्विड प्राेपल्सन सिस्टम्स सेन्टरका निर्देशक हुन् ।
उनी इसरोको लिक्विड प्रोपल्सन सिस्टम सेन्टर (एलपीएससी) का निर्देशक हुन् । यो इसरोका प्रमुख केन्द्रहरू मध्येको एक हो ।
उनी रकेट प्रोपल्सन विशेषज्ञ हुन् । सन् १९८४ मा इसेरोसँग जोडिएका नारायणनले इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट १९८८ मा प्रथम श्रेणीमा क्रायोजेनिक इन्जिनियरिङ (Cryogenic Engineering) उत्तीर्ण गरेका थिए ।
त्यसपछि एरोस्पेस इन्जिनियरिङमा पीएचडी गरे । एम टेकमा प्रथम श्रेणी हासिल गरका उनले आईआईटी खड्गपुरबाट रजत पदक र भारतको एस्ट्रोनटिकल सोसाइटीबाट स्वर्ण पदक प्राप्त गरे । साथै चेन्नईको सत्यबामा विश्वविद्यालयबाट उनलाई मानार्थ डाक्टर अफ साइन्स समेत प्रदान गरिएको छ ।
४. एस उन्नीकृष्णन नायर
उनी विक्रम साराभाइ स्पेस सेन्टर (भीएसएससी) र भारतीय अन्तरिक्ष विज्ञान तथा प्रविधि संस्थान (आईआईएसटी) का निर्देशक हुन् ।
उनले केरला विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङमा बीटेक, आईआईएससी बैङ्ग्लाेरबाट एरोस्पेस इन्जिनियरिङमा एमई र आईआईटी मद्रासबाट मेकानिकल इन्जिनियरिङमा पीएचडी गरेका छन् । भीएसएससीमा उनले आफ्नो करियर सन् १९८५ मा सुरु गरेका थिए ।
५. पी भिरामुथुवेल
चन्द्रयान ३ का परियोजना निर्देशक रहेका भिरामुथुवले रेलवे कर्मचारीका छोरा हुन् । तर भारतले चन्द्रमामा कीर्तिमान राख्नुमा उनको भूमिका महत्त्वपूर्ण छ । उनी इसेरोका विभिन्न विभाग तथा केन्द्रहरूसँग सहकार्य गरेर मिसन सफल बनाउन मुख्य रूपमा जिम्मेवार व्यक्ति हुन् ।
उनी आफ्नो प्राविधिक क्षमताका कारण चिनिन्छन् । चन्द्रयान ३ मा भएको विक्रम रोभर बनाउनमा समेत उनको भूमिका प्रमुख छ । उनले चन्द्रयान २ का लागि महत्त्वपूर्ण काम गरेका थिए । नासासँग सहकार्यमा पनि इसरोका लागि उनी महत्त्वपूर्ण व्यक्ति हुन् ।
उनले विल्लुपुरमको रेलवे स्कुलमा विद्यालय शिक्षा पूरा गरेका थिए । एउटा निजी पोलिटेक्निक कलेजबाट मेकानिकल इन्जिनियरिङमा डिप्लोमा गरेका उनले चेन्नईको एक निजी कलेजमा स्नातक र अर्को इन्जिनियरिङ कलेजमा स्नातकोत्तर तह पूरा गरेका थिए । त्यस्तै उनले आईआईटी मद्रासबाट पीएचडी उपाधि समेत प्राप्त गरेका छन्।
६. एस मोहना कुमार
उनी विक्रम साराभाइ स्पेस सेन्टर (भीएसएससी) का वरिष्ठ वैज्ञानिक र चन्द्रयान-३ को मिसन निर्देशक हुन् । उनले लञ्च भेहिकल मार्क (एलभीएम) ३ एम ३ मिसनमा रहेको वन वेब इन्डिया २ उपग्रहको सफल व्यावसायिक प्रक्षेपण गर्ने निर्देशकको रूपमा काम गरेका छन् ।
इसरोका रकेटहरूका लागि त्यही एमभीएम ३ निकै महत्त्वपूर्ण साबित हुँदै आएको छ । चन्द्रयान ३ लाई पृथ्वीबाट उडाउन प्रयोग गरिएको एलभीएम ३ एम ४ तयार पार्न उनको भूमिका उल्लेखनीय छ । उनी त्यसको आर्किटेक्ट इन्जिनियर समेत हुन् । इसरोमा उनी ३० वर्षदेखि आबद्ध छन् ।
७. ए राजराजन
उनी सतिश धावन स्पेस सेन्टर (एसएचएआर) का निर्देशक तथा वैज्ञानिक हुन् । उनी इसरोको लञ्च अथोराइजेसन बोर्ड (ल्याब) का प्रमुख पनि हुन् । इसरोका लागि मोटर उत्पादनमा भूमिका खेलेका उनको चन्द्रयान ३ पृथ्वीबाट प्रक्षेपण गर्नका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार तयार पार्नेमा महत्त्वपूर्ण हात छ । उनले सन् १९८७ मा ब्याचलर इन मेकाइकल इन्जिनियर सकेका थिए । लगातार सन् २०१०, २०११ र २०१५ मा इसरो एक्सिलेन्स अवार्डबाट उनी सम्मानित भएका छन् ।
८. के कल्पना
उनी चन्द्रयान मिसनकी सहायक परियोजना निर्देशक हुन् । यस बाहेक उनले इसरोका लागि चन्द्रयान २ र मङ्गलायनमा समेत काम गरेकी छिन् । विद्यालय तह उत्तीर्ण पछि उनले इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी), खड़गपुरबाट एरोनोटिकल इन्जिनियरिङमा स्नातक डिग्री हासिल गरेकी छिन् ।
इसरोमा २००३ देखि कार्यरत उनी विशेषतः स्यालटलाइट प्रविधिमा दक्ष मानिन्छिन् । झट्ट हेर्दा पुरुष वैज्ञानिकहरूको भूमिका चन्द्रयान ३ मा प्रमुख देखिए पनि उनी जस्ता धेरै जना महिला वैज्ञानिकहरू यसमा जोडिएका छन् । इसरोका अनुसार चन्द्रयान ३ का विभिन्न परियोजनामा ५४ जना महिला इन्जिनियर र वैज्ञानिकहरू आबद्ध छन् ।
९. रितु करिधल श्रीवास्तव
भारतको रकेट महिला भनेर चिनिने उनी चन्द्रयान ३ का लागि निकै महत्त्वपूर्ण छिन् । उनी चन्द्रयान-२ मा मिसन निर्देशक र भारतको मार्स अर्बिटर मिशन (मोम) मंगलयानका उप निर्देशक समेत हुन् ।
उनले लखनउ विश्वविद्यालयबाट भौतिकशास्त्रमा स्नातक गरेकी छिन् । त्यस्तै भारतीय विज्ञान संस्थान (आईआईएस) बाट एरोस्पेस इन्जिनियरिङमा एमई गरेकी छिन् । इसेरोमा उनी सन् १९९७ देखि आबद्ध रहेकी छिन् ।
१०. एम भनिता
उनी इसरोमा परियोजना निर्देशक र अन्तरग्रह अभियानको नेतृत्व गर्ने पहिलो महिला हुन् । चन्द्रयान ३ मा उनी उपनिर्देशकको भूमिका हरेकी छिन् । इलेक्ट्रोनिक्स सिस्टम इन्जिनियर उनले कलेज अफ इन्जिनियरिङ, गुइन्डी, चेन्नईबाट स्नातक गरेकी छिन् ।
उनले चन्द्रयान ३ सँगै चन्द्रयान २ मा पनि काम गरेकी थिइन् । उनी इसरोमा ३० वर्षदेखि जोडिएकी छिन् ।