close

आफूलाई युट्युबर बताउने शर्मीला वाइबाको दादागिरी, भ्युज बटुल्न सचिन परियारका बुबामाथि हातपात

टेकपाना टेकपाना

भदौ ८, २०८० २०:५२

आफूलाई युट्युबर बताउने शर्मीला वाइबाको दादागिरी, भ्युज बटुल्न सचिन परियारका बुबामाथि हातपात

काठमाडौं । सामाजिक सञ्जालमा बेलाबेला चर्चाको पात्र बनिरहने शर्मिला वाइबाले आफूलाई युट्युबर भन्दै भ्युजका लागि बाल कलाकार सचिन परियारका बुबामाथि हातपात गरेको पाइएको छ । युट्युबरको हुलमुलसहित सचिन परियारका बुबा तेजेन्द्र परियार (कलौटे उपनामले परिचित) को अन्तर्वार्ताका लागि पुगेकी वाइवाले भिडिओ खिचिरहेकै बखत तेजेन्द्रमाथि हातपात गरेको भिडिओ युट्युबमा अपलोड भएको हो ।

आफ्नो पारिवारिक विषयमा अभद्र सवाल उठाएकी वाइवालाई तेजेन्द्रले 'आफ्नो परिवार सम्हाल्न नसक्ने' भन्दै प्रति प्रश्न गरेका थिए । सोही कुरामा एक्कासि आक्रोशित देखिएकी वाइवाले गालामा थप्पडले हिर्काएको भिडिओमा देखिन्छ ।

उक्त भिडिओ शुक्रवार विभिन्न युट्युब च्यानलमा अपलोड भएको छ । शुक्रबार साँझ साढे ५ बजेको समयमा अनामनगर स्थित सिलौटो रेस्टुरेन्टमा आफूमाथि आक्रमण भएको तेजेन्द्रले सुनाए । 

"युट्युब भिडिओ चलाउनकै लागि मलाई हातपात गरेर भिडिओ खिचेको हो कि भन्ने जस्तो लागेको छ," उनले भने, "म अनामनगरतिर भएका बेला उहाँहरू आएर मलाई उत्तेजित बनाउने किसिमका प्रश्न सोध्नु भयो, म पनि उत्तेजित भएँ ।"

प्रहरीमा उजुरी भने दायर नगरिसकेको बताउने उनले भोलि टेकू प्रहरीमा जाने बताए । पछिल्लो समय युट्युबरमा भ्युज बटुल्ने नाममा जथाभाबी किसिमका भिडिओ सामग्री बनाउने र अपलोड गर्ने प्रवृत्ति निकै बढेको छ । तर सरकारले नियमनमा भने ल्याउन सकिरहेको छैन ।

पछिल्लो अध्यावधिक: भदौ ८, २०८० २०:५६